ममता गुरुङ
दुलेगौंडा-घरको भान्छामा सबैभन्दा बढी सक्रिय को हुन्छ ? एउछै जवाफ हुन्छ–महिला । तर, व्यवसायिक भान्छामा महिलाको तुलनामा भान्छे बढी पुरुष हुन्छन् ।
घरको भान्छामा मात्रै सीमित नभइ व्यवसायिक क्षेत्रमा अगाडि बढाउन महिलालाई पाककलाको तालिम दिइएको छ । सीप सिकाएर आर्थिक रुपमा आत्मनिर्भर बनाउन दुलेगौंडामा महिलाका लागि ‘कुक’ तालिम प्रदान गरिएको हो ।
शुक्लागण्डकी नगरपालिका वडा नम्बर ४ को कार्यालयले महिलालाई पाककलामा पोख्त बनाउन १५ दिने तालिम दिएको छ । तालिममा १६ जनाको सहभागिता रहेको थियो ।
महिलालाई घरको भान्छाबाट व्यवसायिक प्रतिष्ठानका भान्छासम्म पु¥याउन तालिम दिएको वडाध्यक्ष राजकुमार वाग्ले (राजु) ले बताए । व्यक्तिगत सीप, व्यवसायिक जीवन र बढ्दो स्वास्थ्य समस्याको निराकरण गर्न सकिने उनको भनाइ छ ।वडाले प्रत्यक्ष जीवनमा लागु हुने तालिमलाई जोड दिएको बताउदै खानपानकै कारण अस्वस्थ बनेको शहरीया जीवनशैलीलाई सुधार्न सघाउने वडाध्यक्ष वाग्लेले बताए ।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले महिलाले परम्परागत शैलीको पाककलालाई व्यवसायिक बनाउन सक्ने बताए । सीपलाई आयआर्जनसँग जोड्नुपर्ने उनको भनाइ थियो ।
तालिम समापनमा समारोहमा वडा सदस्य मदन श्रेष्ठ, मिना रोका सुनार, प्रशिक्षक संगम राना, शुक्लागण्डकी महिला उद्यमशिल समुहकी अध्यक्ष मिरु श्रेष्ठ, प्रशिक्षार्थी सपना श्रेष्ठ लगायतले तालिम महत्वपूर्ण रहेको बताए । महिलाको क्षमता विकाससँगै व्यवसायिक क्षेत्रमा लाग्न उर्जा दिलाएको उनीहरुको भनाइ थियो ।
वडा कार्यालयको आयोजना र शुक्लागण्डकी उद्यमशिल महिला समूहको सहआयोजनामा तालिम भएको हो ।


