विश्वन्धुले प्राप्त गरेको तीतो कफीको गुलियो सन्तुष्टि

विनोद ढुंगाना


पोखरा
-झ्यांगिएका १५ बढी कफीका बोटहरु राधादेवी पोखरेलले श्रीमान अफिस गएको बेला पारेर हँसियाले छप्काइदिइन । भोलिपल्ट विहान बार्दलीमा बसेर चियाँ पिउने बेलामा धर्मानन्दले सर्लक्कै ढलेका कफीका बोटहरु देखे । हुर्किएर फल दिन थालेका कफीका बोट गिँडिदा उनलाई विघ्नै दुख्यो । २०२८ सालमा कुश्माको सरकारी अड्डामा कार्यरत छँदा उनले बिउ ल्याएर फुटेको हन्डामा विरुवा जमाएका थिए ।

कफीको विरुवालाई जतनले हुर्काए । ‘कफीको बोट किन यसरी काटेको ?’, धर्मानन्दले श्रीमतिलाई प्रश्न गरे । प्रश्नोत्तरले भनाभनको स्थितिमा पु¥यायो । घरझगडाले श्रीमानश्रीमतिको केही समय त बोलचाल नै बन्द गरायो ।

राधादेवीले श्रीमानसँग दन्तबजान हुने गरेर कफीको बोट गिँड्नुको कारण थियो, ‘न बजार न त महत्व नै ।’ कफीलाई छहारी दिइरहेका सुन्तलाका बोटहरुले राम्रो आम्दानी दिइरहेका थिए । ठेकेदार मोलमोलाइ गर्न फेदैमा आइपुग्थे । कफीका बोटले जग्गा मात्रै ओगटेका उनलाई भान हुन्थ्यो । आम्दानी नदिएपनि स्याहार गर्नको दुखले काटेकी थिइन् । रहरले हुर्काएका कफीका बोट काटिएको घाउ धर्मानन्दको मनमा खाटो बस्न लामै समय लाग्यो ।

बुवाआमाबीच बोलचाल नै बन्द गराउने कफीका विरुवालाई हुर्काएर अहिले विश्वबन्धु पोखरेलले दामसँगै पहिचान कमाएका छन् । उनको पौरखले कफी लगाउने किसानलाई हौस्याउँदैछ । विश्व बजारमा नेपाली कफीको गुणस्तरीय छाप छोड्दैछ ।

अहिले राधादेवी, विश्वबन्धु र विश्वबन्धुका छोरा नवराज तीन पुस्ता मिलेर कफीका बेर्ना उत्पादनदेखि कपसम्म कफीको स्वाद पु¥याउन तल्लिन छन् । कास्कीको पोखरा महानगरपालिका–२१ कृस्ति वयलीमा नेपाल ब्लु माउण्टेन अर्गानिक फार्म सञ्चालन गरेर पोखरेल परिवारले युरोपसम्म नेपाली कफीको स्वाद चख्याउँछन् । विदेशी विश्वविद्यालयका विद्यार्थीलाई कफीको अध्ययन अनुसन्धान गर्न कृस्तिसम्म डो¥याएको छ ।

कानुनका विद्यार्थी विश्वबन्धुले केही वर्ष वकालत गरेको सुनाउँछन् । वकालत गर्दा कहिलेकाहीं झुटलाई सही र सहीलाई झुट भन्नुपर्ने उनलाई फिटिक्कै मन परेन । केही वर्ष विद्यार्थीलाई अक्षर चिनाए । गाउँलेलाई अनौठो लाग्ने गरेर धान फल्ने खेतमा सुन्तलाका विरुवा हुर्काए । पछि सुन्तलाले राम्रो आम्दानी दिएन, बोटहरु मासिदै गए ।

त्यसपछि उनले सुरु गरे व्यवसायिक कफी खेती । २०५८ सालमा सुरु गरेको कफी खेतीलाई उनले निरन्तरता दिइरहेका छन् । बाँदरले समेत त्यति क्षति नपु¥याउने कफी खेती गर्नलाई किसानको ‘आइडल’ विश्वबन्धु बन्दैछन् ।

‘कफी बोट काटेको विषयले बा र आमाबीच बोलचाल नै भएन । त्यो पीडा कता कता मभित्र लुकिरारच । कफी खेतीतर्फ त्यसले तानिरहेको रहेछ’, कफी खेती सुरुआतको कथा सुनाउदै उनी भन्छन्, ‘विदेशीहरु यो बाटो हिँडिराख्थे । वाउ कफी भन्दै रमाउने उनीहरु । एक दिन त एक जना जर्मनीले कफी कति विक्छ हाम्रो देशमा भन्यो । त्यसपछि कफी खेतीमा लाग्न झनै प्रेरित ग¥यो ।’

उनी आफैं पनि कफीका बारेमा अध्ययन गर्न थाले । उनलाई पत्तो भयो, ‘बजार त एकदमै राम्रो रच । पेट्रोलियम पदार्थपछि विश्व बजारमा बिक्री हुने दोस्रो उपज कफी रहेछ ।’ भर्खर भर्खर नेपालमा व्यवसायिक कफी खेती सुरु भएको बेला थियो । डलरको भाउ पाइन्छ कफीको भनेपछि उतिखेर मख्ख परेर दिलोज्यान लगाएर लागेको विश्वबन्धु सम्झन्छन् ।

अहिले विश्वन्धुको दैलोमा रहेको बगानमा करिब दुई हजार साना ठूला कफीका विरुवा हुर्कदैछन् । केही हुर्कदै त कतिपय बोटमा लटरम्म दाना लागेका छन् । दुई हजार किलो बढी आफ्नै बगानमा कफीको दाना फल्छ । दुई वर्ष पहिले स्याङजामा तीन हजार विरुवा लगाएका छन् ।
बार्षिक १५ हजार किलो अन्य किसानले लगाएको कफीको दाना (चेरी)संकलन गर्छन् । कफीलाई ग्रेडिङ, प्रशोधन, रोष्टिङ गरेर गुणस्तर कायम गर्दै बजारसम्म प¥याउँछन् । कफीका विरुवा चाहिने किसानको सहजतालाई ध्यानमा राखेर नर्सरी पनि चलाएका छन् । पोखराका क्याफेहरुलाई ‘बिन्स’ उपलब्ध गराउछन् । विश्वबन्धु र छोरा नवराज मिलेर मन्त्र बनाएका छन्, ‘सिड्स टु कप ।’

२३ वर्षदेखि निरन्तरता दिइरहेका उनले तितो कफीबाट गुलियो सन्तुष्टि लिएका छन् । स्वादमा तितो लाग्ने कफीको चरित्र गुलियो रहेको विश्वबन्धु बताउँछन् । त्यसैले त अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको सम्भावना निकै रहेको उनको ठम्याइ छ । ‘कहिले दुध बिकेन भनेर पोखेको तपाईं हामीले देखेको हुन्छौं । तरकारी सडकमा गाडीले कुल्चाएको फ्याँकेका घटनाहरु छन् । तर, कफीमा त्यो खालको पीडा अहिलेसम्म छैन । मलाई लाग्छ अझै १० वर्ष नेपालीले जति उत्पादन गरेपनि त्यस्तो समस्या आउदैन । मेहनपूर्वक लाग्न आवश्यक छ’, उनको भनाइ छ ।

कृषि पेशामा मेहनत अपरिहार्य रहेको उनको अनुभवले बोल्छ । विश्वबन्धु जिकिरका साथ भन्छन्, ‘मेहनतको साथ लागियो भने किसान भोको रहदैन । कफी खेती घाटा छैन ।’

विश्वबन्धुको परिवारले निकै मेहनतका साथ कफीको काम गर्छन् । आमा राधादेवी र श्रीमति इन्दिरासँग मिलेर विश्वबन्धुले कफीको बोटको स्याहारसुसार गर्छन् । कफीको ग्रेडिङ र प्रशोधनमा राधादेवी र इन्दिरा पोख्त छन् । रोष्टिङ गर्ने, बिन्स र कफीको धूलो तयार पार्न विश्वबन्धु जाँगर निकाल्छन् । गुणस्तरीयता कायम र बजारीकरणमा तेस्रो पुस्ता नवराजको दौडधूप निकै छ । बुवाले उत्पादन गरेको कफी डेलिभरी मात्रै गर्ने नवराज अचेत यसैमा भविष्य देखेर तल्लिन छन् । पासपोर्ट बोकेर विदेश उड्ने सपना उनीसँगै छैन ।

‘सुरुमा बुवाले तयार गरेको कफी डेलिभरी गर्थें । विस्तारै ग्राहकले कसरी रोष्ट भा हो । पक्रिया कसरी ग¥यो हो भनेर सोध्न थाल्नुभो । विस्तारै के रहेछ त यो सब जिज्ञासा बढ्न थाल्यो’, उनले भने, ‘विस्तारै कफीभित्र छिर्न थालेपछि यसको प्रक्रिया, स्वाद निकै बृहत र मज्जा लाग्दै जान थाल्यो । त्यसपछि आफूलाई पनि यसैमा संग्लन गराए ।’ अहिले उनी बजार व्यवस्थापन, लेखा व्यवस्थापन, कफीको गुणस्तर कायम, कफी उत्पादनका नयाँ प्रविधिसँगै प्रक्रियाबारे उनी पोख्त भएका छन् । विदेशसम्म कफी पु¥याउने जिम्मेवारी पनि उनैको काँधमा छ । विदेशी ग्राहकले रुचाएको नेपाली कफीको स्वादले झनै प्रेरित गरेको उनले सुनाए ।

कफी पारखीको संख्या दिनानुदिन बढेकाले बजारमा मागसमेत बढेको उनको विश्लेषण छ । ‘तत्कालै आम्दानी खोज्ने हो भने अर्कै पेशामा लाग्नुपर्छ होला । तर, समय दिएर निरन्तर मेहनत गर्ने हो भने कफीमा सम्भावना छ’, कफी खेती गर्न चाहनेलाई उनको सुझाव छ, ‘एकैचोटीमा त कफीको फल लिन मिल्दैन । कम्तीमा पनि तीन वर्ष कुर्नुपर्छ । बजार नभाको या बिक्री नहुने हो की भन्ने छैन ।’

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.