डिफेन्डिङ च्याम्पियन आर्मीलाई रोक्दै चर्च ब्वाइज सेमिफाइनलमा

पोखरा

चर्च ब्वाइज युनाइटेड पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । सोमबार पोखरा रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै चर्चले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।


चर्चका राज भुषालले ८९ औं मिनेटमा गरेको गोलले नै आर्मीको अघिल्लो चरणको यात्रामा ब्रेक लगायो । गत संस्करणको सेमिफाइनलमा आर्मीले चर्चलाई रोक्दै फाइनल प्रवेश गरेको थियो ।

१५ औं पटकसम्म आहारारा पोखरा गोल्डकपमा सहभागी हुदा आर्मीले गत संस्करणमा पहिलो पटक उपाधि जितेको थियो । १६ औं पटकको सहभागितामा आर्मीलाई चर्च बाधक बन्यो ।

चर्चले अब सेमिफाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्बलसँग प्रतिस्पर्धा गर्नेछ । माघ ३० गते आहा रारा पोखरा गोल्डकपको पहिलो सेमिफाइनल खेल हुनेछ ।

मंगलबार अन्तिम चारमा सुरक्षित हुने अन्तिम टोलीको टुंगो लाग्नेछ । त्यसका लागि दुई पाहुना टोली सिक्किमको थन्डरबोल्ट नर्थ युनाईटेड र ब्ल्याक बुल्स फुटबल क्लब उज्वेकिस्तानबीच हुनेछ । विजेताले दोस्रो सेमिफाइनलमा थ्रीस्टार क्लबसँग खेल्नेछ ।

माघ २३ देखि जारी प्रतियोगिताको फाइनल खेल फागुन ३ गते हुनेछ । यो पटक तीन विदेशीसहित १२ टोली प्रतियोगितामा सहभागी थिए । उपाधि विजेताले १२ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ६ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.