पोखरा– पूर्वडिआइजी छविलाल जोशी बन्जाडेका कानुन व्यवसायीले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको मुद्वामा हदम्याद लागु नभएको भन्दै प्रश्न उठाएका छन् । पूरक अभियोग ४५ दिनभित्र दर्ता गर्नुपर्ने भएपनि हदम्याद कटेपछि मात्रै दर्ता भएको छविको तर्फबाट बहस गरेका अधिवक्ता अपूर्व खतिवडाले प्रश्न गरेका हुन् ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम ठगीको आरोपमा २०८० असोज १८ गते १९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।
‘मुद्वा दर्ता भएको मितिले ४५ दिनभित्र पूरक अभियोग पत्र आइसक्नुपर्ने थियो । ढिला गरी किन आयो ? तसर्थ मुद्वामा हदम्याद देखिएन ’, अधिवक्ता खतिवडाले इजालसमा प्रश्न गरे ।
सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले गोरखा मिडिया नेटवर्कमा सूर्यदर्शन सहकारी लगायतबाट अवैधानिक तवरले रकम लगेको निष्कर्ष निकालेपछि सञ्चालक रहेका पूर्वडिआइजी जोशी गएको असोज ६ गते पक्राउ परेका हुन् ।
कास्की प्रहरीको हिरासतमा रहेका पूर्वडिआइजी जोशीको शुक्रबारदेखि थुनछेक बहस सुरु भएको छ । उनका तर्फबाट वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाल र अधिवक्ता अपूर्व खतिवडाले बहस गरे ।
छविको तर्फबाट हुने बहसले आइतबार पनि निरन्तरता पाउनेछ । वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र रमण श्रेष्ठले बहस गर्ने अदालतमा जानकारी गराएका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले छविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोग दायर गरेको छ । पूर्वडीआईजी जोशीसँग ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँको स्रोत नखुलेको हुँदा बिगो माग दाबी गरिएको छ । सहकारी ठगीको मुद्वामा जोशीले ५ करोड २६ लाख रुपैयाँ अपचलन गरेको अभियोग पत्रमा उल्लेख छ ।
छविलाल सूर्यदर्शन सहकारीको शेयर सदस्य र बचतकर्ता दुवै नभएकाले असम्बन्धित व्यक्तिलाई सहकारी ठगीको मुद्वा लगाइएको उनका कानुन व्यवसायीले शुक्रबार दाबी गरे । ‘उहाँ (छविलाल जोशी) लाई सहकारी ठगीको मुद्वा लाग्ने अवस्था होइन’, जगन्नाथ र अपूर्वको तर्क थियो ।
सम्पत्ति शुद्धीकरणको मुद्वामा छविको आफ्नै कमाई भएको कानुन व्यवसायीले दाबी गरेको एक अभिवक्ताले बताए । ‘लामो समयसम्म प्रहरी सेवामै उच्च ओहोदाबाट रिटार्यड हुनुभएको हो । उहाँ आफ्नै नेतृत्वको मिसनमा पटक पटक जानुभाको छ । र उहाँ पैतृक सम्पत्ति पनि हो । सम्पत्ति शुद्धीकरणमा स्रोत सबै खुलेको छ । सोको प्रमाण कागज सबै पेश भएको छ’, कानुन व्यवसायीको भनाइलाई उदृत गर्दै उनले भने ।
गोरखा मिडिया नेटवर्क प्रालि र नेचर हर्ब्स प्रालि लगायत कम्पनीलाई प्रतिवादी नबनाइएकोमा छविका कानुन व्यवसायीको आपत्ति छ ।
शुक्रबार सूर्यदर्शन सहकारी अपचलन प्रकरणका मुख्य नाइके गितेन्द्र राई (जीबि) सँग मिलेर रकम हिनामिना आरोपमा प्रतिवादी बनाइएकी गिता पछाईंतर्फबाट पनि बहस भएको छ । पछाईंका तर्फबाट गणेशबहादुर भट्टराईले बहस गरे । लिलाको सूयदर्शन सहकारी प्रकरणमा संग्लनता नरहेको भन्दै भट्टराईले वहस गरे ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजालसमा मंगलबार दिउँसोदेखि थुनछेक बहस सुरु भएको हो । मंगलबार र बुधबार सरकारी वकिलको कार्यालयको तर्फबाट बहस भयो ।
मंगलबार सहायक जिल्ला न्यायधिवक्ता शान्तिदेवी शर्मा र सुजता पौडेलले बहस गरे । बुधबार भएको वहसमा महान्यायाधिवक्ताको कार्यालयबाट आएका नायब महान्यायधिवक्ता सञ्जिवराज रेग्मी, उपन्यायधिवक्ता प्रकाश गौतम, जिल्ला न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारीले बहस गरे ।
बिहीबार जाहेरवाला (सहकारी पीडित) को तर्फबाट बहस भएको थियो । सहकारी पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, अधिवक्ताहरू युवराज पराजुली, रामचन्द्र (आरसी) गौतम, हरि कट्टेल र बिबी विष्टले बहस गरेका हुन् ।
शुक्रबारदेखि प्रतिवादीको तर्फबाट बहस सुरु भएको हो । आइतबार छवि र लिलाकै बहसले निरन्तरता पाउने जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालले बताए । त्यसपछि कसको तर्फबाट बहस हुने टुंगो नलागेको उनको भनाइ छ ।
पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछाने, नेचर हब्र्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाल, सूर्यदर्शन सहकारीका सञ्चालक कृष्णबहादुर गुरुङ, पूर्वउपाध्यक्षसमेत रहेकी पूर्व गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङ, पूर्वकोषाध्यक्ष आरती गुरुङको तर्फबाट बहस हुन बाँकी नै छ ।
रविको तर्फबाट हाललाई ८ जनाले बहस गर्ने वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरले जानकारी दिए । घिमिरेसँगै वरिष्ठ अधिवक्ता शुसिल पन्त, हरि सुवेदी, रोहितराज बास्तोला, सुरेन्द्र थापा, अधिवक्ता डा. नारायण कँडेल, सुरज बस्नेत, राजेन्द्र सेढाईंले बहस गर्नेछन् ।
पोखराको सूर्यदर्शन सहकारीको १८ हजार ७ सय बचतकर्ताको एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ ३ पैसा अपचलन गरेको उल्लेख गर्दै सरकारी वकिलको कार्यालयले पुस ७ गते अदालतमा मुद्वा दायर गरेको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय गत वर्षको असोज १८ गते १९ जनालाई प्रतिवादी बनाएर सूर्यदर्शन सहकारी प्रकरणमा मुद्वा दायर भएको थियो । पुस ५ गते तीनै १९ जनालाई पूरक अभियोग लगाइयो । पुस ७ गते जिल्ला अदालत कास्कीमा रवि, छवि लगायत ४४ जनालाई प्रतिवाली बनाएर थप अभियोग दायर भएको हो ।