दुलेगौंडा
स्थानीय तह यतिबेला नीति तथा कार्यक्रम र बजेट निर्माणको चटारोमा छन् । स्थानीय स्रोत साधानको प्रयोग गरेर कसरी कस्तो बजेट बनाउने भन्नेमा धेरैको ध्यान जादैन ।
तनहुँको शुक्लागण्डकी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी भने कसरी स्थानीय स्रोतको प्रयोग गरेर बजेट निर्माण गर्न सकिन्छ ? सिक्नलाई जुटेका छन् । प्रशिक्षणको तारतम्य शुक्लागण्डकी नगरपालिकासँग मिलेर गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले मिलाएको हो ।
तीन दिने स्थानीय आर्थिक विकास तालिम बुधबारदेखि सुरु भएको छ । तालिमको शुभारम्भमा बोल्दै शुक्लागण्डकीका मेयर कृष्णराज पण्डितले सम्भावनालाई कसरी उपभोग गरेर समृद्धिको सपनातर्फ पूरा गर्न सकिन्छ त्यसमा केन्द्रित हुनुपर्ने बताए ।
स्थानीय कानुन, स्रोत साधनको सदुपयोग, योजना निर्माण, स्रोतको पहिचान र परिचालनको सोंच बनाउनुपर्नेमा उनको जोड छ । ‘समग्र शुक्लागण्डकीको आयआर्जन बढाएर आत्मनिर्भरतातर्फ नलगेसम्म हुदैन’, उनले भने, ‘योजना बनाएर व्यवस्थित हिसाबले काम गर्ने हो भने थुप्रै सम्भावनाहरु छन् ।’
उपमेयर खुमबहादुर विक ‘राजु’ ले आर्थिक विकास, स्रोत र क्षेत्रको बारेमा छलफल गर्न आवश्यक रहेको बताए । स्रोतको पहिचान र परिचालन गरेर आम जनताको पहुँच विकास गर्नुपर्ने उनको भनाइ थियो ।
प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले स्थानीय सरकारको मुख्य उदेश्य आर्थिक विकास रहेको बताए । विकासका गतिविधिले अन्तिममा आर्थिक विकास हुनुपर्ने उनको तर्क छ । ‘सम्भावनाका क्षेत्रहरु केके छन् ? कसरी पहिचान गर्न सकिन्छ ? भनेर दिशा निर्देश गर्न आवश्यक देखिन्छ’, उनले भने ।
तीन दिनसम्मको प्रशिक्षणमा स्थानीय स्रोतको पहिचान गरेर बजेट निर्माणमा सघाउने उदेश्य रहेको गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका शाखा अधिकृत जितबहादुर राना मगरले बताए ।
शुक्लागण्डकीका जनप्रतिनिधि र कर्मचारी गरेर ३५ जना प्रशिक्षणमा सहभागी छन् । उनीहरुलाई विकासका सोंचमा आएका परिवर्तन, संघ, प्रदेशको दीर्घकालिन सोंच लक्ष्य र उदेश्य, स्थानीय आर्थिक विकासको अवधारणा, उद्यम र उद्यमशीलता, व्यवसायिक योजनाको अवधारणा र खाका, स्थानीय आर्थिक विकासको महत्व, चरण, अवस्थाको विश्लेषण, प्राथमिकीकरण, वडास्तरमा स्थानीय आर्थिक विकास योजना तर्जुमाको अभ्यास लगायतका विषयमा सूर्यविनोद अधिकारी र शान्ता बरालले प्रशिक्षण दिनेछन् ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले प्रदेशका ९ वटा स्थानीय तहमा पुगेर यो तालिम दिनेछ । गोरखाको अजिरकोट गाउँपालिका पुगेर आएको प्रतिष्ठानले शुक्लागण्डकीमा सकेपछि तनहुँकै घिरिङ गाउँपालिका र लमजुङको राइनास नगरपालिकामा प्रशिक्षण दिनेछ ।