मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा महायज्ञ सुरु

तनहुँ

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा बोलबम धार्मिक महोत्सव सुरु भएको छ । सोमबारदेखि सुरु भएको धार्मिक महोत्सव साउन २६ गतेसम्म जारी रहनेछ ।
मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा विगत एक दशकदेखि हरेक साउनमा सप्ताह ज्ञान महायज्ञ हुदै आइरहेको छ । धर्मको माध्यमबाट समाजको उत्थान तथा विकास गर्ने उदेश्य राखेर महायज्ञ गरिएको हो ।

धार्मिक महोत्सवको शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डित, उपमेयर खुमबहादुर विक ‘राजु’ ले संयुक्त रुपमा उद्घाटन गरे । महोत्सवको उद्घाटनपश्चात सम्बोधन गर्दै शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले मानवसभ्यताको विकास गर्न धर्म र शिक्षा सँगसँगै लैजान आवश्यक रहेको बताए । उनले च्यवनधामको विकासमा संघ र प्रदेश सरकारसँग सहकार्य गरेर बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् ।

शुक्लागण्डकीका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले च्यवनधाम धार्मिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्ने सम्भावना रहेको बताए । ‘च्यवनधामलाई वरपरको गन्तव्यसम्म जोड्न आवश्यक छ’, उनले भने ।

श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा बोलबम धार्मिक महोत्सव मूल समारोह समिति संयोजक ठाकुरप्रसाद शास्त्रीको अध्यक्षतामा भएको कार्यक्रममा मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम विकास समितिका अध्यक्ष होमनाथ लम्साल अर्जुन, पतञ्जली योग समितिको तर्फबाट पार्वती पौडेल, धार्मिक महोत्सवको कार्यक्रम सञ्चालन उपसमिति संयोजक शंकर पन्त लगायतले बोलेका थिए ।

उद्घाटनपूर्व शुक्लागण्डकी–४ दुलेगौंडास्थित शुक्लागण्डकी नगरपालिकाको प्रवेशद्वारबाट बाजागाजासहितको ¥याली निकालिएको थियो । सोमबार ब्रत बसेर शिवको पुजा आराधाना गर्ने भक्तजनले मन्दिर परिसर भरिभराउ थियो ।

महायज्ञ अवधिभर प्रातकालीन योज्ञ विज्ञान, दैनिक हवन, रुद्री, पाठ परायणसहित संगीतमय कथा प्रवचन, पितृ संकल्प हुने मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम विकास समितिका सचिव दुर्गादत्त सापकोटाले बताए । उनका अनुसार ग्रहशान्ति, तुलादान लगायतका कार्यक्रम हुनेछन् । पण्डित ईश्वर रेग्मीद्वारा झाँकीसहित कथावाचन हुने जनाइएको छ ।

महायज्ञको अवसरमा अन्तर विद्यालयस्तरीय वकतृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । ‘साँस्कृतिक सहिष्णुतामा च्यवनधामको भूमिका’ विषयक प्रतियोगिताको विजेताले १० हजार रुपैयाँ पाउनेछन् । दोस्रो हुनेले ७ हजार रुपैयाँ र तेस्रोले ५ हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् ।

च्यवनधाम परिसरमा निर्माण गरिएका शुक्लेश्वर महादेवको मन्दिर, आसपासमा सूर्य नारायण, लक्ष्मी नारायण, दुर्गा भवानी र गणेशको मन्दिरले यहाँ आउने भक्तजनलाई आकर्षित गर्छ । मुक्तिनाथकै झल्को दिने १०८ धारा, १०८ ओमकार कल्पवृक्ष, १०८ शिवलिङ्ग, मोक्षकुण्ड, वृद्धाश्रम, पार्क, महादेवको मुर्ति लगायत संरचना निर्माण गरिएको छ ।

सेती नदी किनारको जग्गा २०६७ सालबाट मन्दिरसहितका पूर्वाधार निर्माण सुरुआत गरिएको थियो । अहिले मुक्तिनाथ जान हिँडेका भक्तजन शुक्लागण्डकी च्यवनधाम दर्शनका लागि पस्ने गर्छन ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.