दुलेगौंडा
तनहुँको शुक्लागण्डकीमा ३१ औं विश्व आदीवासी दिवसको पूर्वसन्ध्यामा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । सोमबार नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद् शुक्लागण्डकीले वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।
वक्तृत्वकला प्रतियोगिता शुक्लागण्डकी नगरपालिकामा रहेको माध्यमिक तहका विद्यार्थी सहभागी हुने परिषद्का सल्लाहाकार समिति संयोजक खिम कुमालले जानकारी दिए । हालसम्म १५ जना बढी विद्यार्थीले सहभागिता जनाउने तय भएको छ । ‘संघीयता कार्यन्वयनमा आदिवासी जनजातिको भूमिका’ शीर्षकमा प्रतियोगिता हुनेछ ।
प्रतियोगिताको विजेताले ८ हजार रुपैयाँ, दोस्रो हुनेले ६ हजार रुपैयाँ, तेस्रोले ४ हजार रुपैयाँ र सान्त्वना दुई जनाले जनही एक हजार ५ सय रुपैयाँको साथमा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
संघियताबारेको भ्रम चिर्नलाई वकतृत्वकला प्रतियोगिता आयोजना गरेको कुमालको भनाइ छ । ‘आदिवासी जनजाती आन्दोलनले प्राप्त गरेका उपलब्धिलाई कार्यन्वयन गर्न सकेमा मात्र संघीयता सफल हुन्छ’, उनले भने । संघियता पूर्ण रुपमा कार्यन्वयन हुदा पछाडि परेका समुदायलाई अगाडि ल्याउने बताए ।
साउन २४ गते ३१ औं विश्व आदीवासी दिवस मनाइनेछ । त्यस दिन शुक्लागण्डकीमा झाँकी ¥याली निकालेर मनाउने तयारी भएको परिषद् अध्यक्ष तुलसीकुमारी श्रेष्ठले बताइन् । शुक्लागण्डकी–४ विपिचोक र गल्छिनाबाट झाँकीसहितको ¥याली निकालेर शुक्लागण्डकी नगरपालिकाको सभाहलमा कार्यक्रम हुनेछ ।
कार्यक्रममा आदिवासी जनजाती समुदायले आफ्नै भाषामा शुभकामना आदानप्रदानसँगै समुदायगत नृत्य प्रस्तुत गर्नेछन् । आदिवासी जनजातिका भाषा, धर्म, कला र संस्कृति सम्बन्धि चेतना अभिवृद्धि गराउने उदेश्य रहेको अध्यक्ष श्रेष्ठले बताइन् ।
‘आदिवासी जनजाती समुदायको शिक्षा, स्वास्थ्य, आर्थिक एवम सामाजिक स्थितिमा सुधार ल्याउने उदेश्य रहेको छ’, उनले भनिन् ।
आइतबार दुलेगौंडामा पत्रकार सम्मेलनको आयोजना गरेर ३१ औं विश्व आदीवासी दिवस विभिन्न कार्यक्रम गरेर मनाइने जानकारी गराइएको हो । वक्तृत्वकला प्रतियोगितासँगै आदिवासी जनजाती सम्बन्धि प्रशिक्षण कार्यक्रम, अन्तरक्रिया र साँस्कृतिक कार्यक्रम हुने नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद् शुक्लागण्डकीका सचिवालय सदस्य बिर्सना श्रेष्ठले बताइन् ।