दुलेगौंडा
तनहुँको दुलेगौंडामा बृहत रक्तदान कार्यक्रम हुने भएको छ । लायन्स क्लब अफ शुक्लागण्डकीले साउन १४ गते बुधबार बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
दुलेगौंडाको वन्केवाचोकमा रक्तदान हुनेछ । क्लब स्थापना भएदेखि नै रक्तदान कार्यक्रमलाई निरन्तरता दिदै आइरहेको अध्यक्ष ओमकुमार श्रेष्ठले बताए । ३५० पिन्ट रगत संकलन गर्ने लक्ष्य रहेको उनले सुनाए । ‘३१३ पिन्ट रगत संकलन गरेर लायन्सको इतिहासमा यसअघि नै रेकर्ड राखेका छौं । यसपाली नयाँ रेकर्ड बन्ने विश्वास छ’, उनले भने । सामाजिक सेवालाई भावलाई उच्च बनाउन रक्तदानले भुमिका खेल्ने अध्यक्ष श्रेष्ठको भनाइ छ ।
रक्तदान कार्यक्रमका संयोजक सुमन सापकोटाले रक्तदान क्लबको नियमित कार्य भएको बताए । बृहत र खुला कार्यक्रम भएकाले सहभागी हुन रक्तदातासमक्ष उनको अपिल छ । भन्छन्, ‘रक्तदान गर्दा हाम्रो स्वास्थ्यमा कुनै प्रतिकुल असर गर्दैन । स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।’ रक्तदानले रगतकै अभावमा अकालमा मृत्युवरण गर्नुपर्ने बिरामीको जीवनरक्षा हुने उनको भनाइ छ ।