पोखरा
सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेलाई फेरी पोखरा ल्याइएको छ । बुटवलबाट लामीछानेलाई बिहीबार दिउँसो पोखरा ल्याइएको हो ।
साढे १ बजे भैरहवा विमानस्थलबाट उडेको यति एयरलायन्सको जहाज केहीबेर पहिले पोखरा अवतरण गरेको छ ।
विमानस्थलबाट सिधैं रविको स्वास्थ्य परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगियो । स्वास्थ्य परीक्षण गरेर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा लगिएको हो ।
बुटवलको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका लामिछानेलाई भैरहवामा बिहीबार बयान सकिएपछि पोखरा फिर्ता ल्याइएको छ । बयानका लागि गत मंगलबार पोखराबाट उनलाई भैरहवा लगिएको थियो ।
रविलाई कात्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाट पक्राउ गरिएको थियो । भोलिपल्ट बिहानपख उनलाई सडकमार्ग हुँदै पोखरा ल्याइपुर्याइएको हो ।
पछिल्लो पटक कात्तिक २५ गते जिल्ला अदालत कास्कीले रविलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।