मर्दीमा बेपत्ता गाइडको शव फेला, उद्दारमा समस्या


तनहुँ

मर्दी हिमाल आरोहण गरेर फर्कदा लडेर बेपत्ता पर्यटक गाइडको शव फेला परेको छ ।


नर्वेका नागरिकसँग हिमाल चढ्न सहयोगीका रुपमा गएका नुवाकोट काल्चेका ६२ वर्षीय लालबहादुर तामाङ शनिवार बेपत्ता भएका हुन् ।
उनको शव मंगलबार फेला परेको माछापुच्छ्रे गाउँपालिका-९ का वडाध्यक्ष हरिबहादुर क्षेत्री ( राजेन्द्र) ले जानकारी दिए । 

लालबहादुर मर्दीको ५ हजार ३०० मिटर उचाइबाट खसेका थिए । उनको शव सात सय मिटर तल फेला परेको वडाध्यक्ष क्षेत्रीले बताए ।

`मर्दी हाइक्याम्पबाट गएको उद्दार टोलीले खोंचबाट डोरीको सहायताले  दुई सय मिटर माथी ल्याएर शवलाई सुरक्षित तवरले प्याक गरिएको छ´, उनले भने, `डोरीले हेलिकप्टरबाट झुन्डाएर उद्दार गर्न मिल्ने गरेर छाडेका छौं । मान्छेले उद्दार गरेर ल्याउने सम्भावना देखिएन ।´

मंगलबार विहान हेलिकप्टरबाट रेकी गरेर शव रहेको स्थान फेला पारेको हो ।

उनीहरु हिमाल चढ्नलाई गत शुक्रबार हाइक्याम्पबाट मर्दी हिमालतर्फ लागेका थिए । वडाध्यक्ष क्षेत्रीका अनुसार उनीहरु सनराइज कम्पनी काठमाडौंमार्फत आएका हुन् ।

टोलीमा हिमाल आरोहणका लागि आएका नर्वेका नागरिक एक जना र नेपाली ४ जना थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.