सय दिन बुझ्दैमा गयो, अब देखिने गरेर काम हुन्छः मन्त्री पौडेल

दुलेगौंडा

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पूराना पार्टीलाई गाली गरेर नयाँ हुन नसकिने जिकिर गरेका छन् । नयाँ पार्टीले पनि पूरानाले जस्तै विचारको मात्रै राजनीति गरेको उनको भनाइ छ ।

‘नयाँ आउने पार्टीले पनि स्रोतलाई पूरानाले जस्तै बिर्सेको स्थिति छ । र पूरानालाई गाली गरेर नयाँ हुन सकिदैन’, शनिबार गृहजिल्ला तनहुँ पुगेर मन्त्री पौडेलले भने ।

नेपाली कांग्रेस शुक्लागण्डकी नगरपालिका प्रशिक्षण विभागले आयोजना गरेको प्रशिक्षणमा मन्त्री पौडेलले नेपालको राजनीतिमा सिद्धान्त र त्यसलाई कार्यन्वयन गर्ने स्रोतका बीचमा कहींकतै तालमेल नमिलेको बताए । भाषण पूरा गर्न स्रोत कसरी पुग्छ चटक्कै बिर्सेको उनको भनाइ थियो ।

‘हामीले भाषण गर्दै गयौं । भाषण गरेको कुरा कसरी पूरा हुन्छ त्यो स्रोतसँग कहिलेपनि जोडेनौं । भाषण गरेर पूरा गर्ने विषयहरुको स्रोत सुनिश्चितता गर्ने, कहाँबाट त्यो स्रोत आउने हो ? स्रोत कसरी जेनेरेट गर्ने हो ? नेपालमा आर्थिक व्यवस्था कसरी व्यवस्थित गर्ने हो ? भन्ने पाटोलाई हामीले चटक्कै बिर्सेको स्थिति रहेछ’, उनले भने ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्यसमेत रहेका पौडेलले थपे, ‘स्रोतबिना कुनै पनि विषयको कार्यान्वयन सम्भव छैन । स्रोतबिना समाजवाद लागु हुन सम्भव छैन । स्रोतबिना हामीले जति नागरिक पक्षमा कुरा गरेका छौं यि सबै कुरा उपलब्ध हुन सम्भव छैन । त्यसैले राजनीतिक विचारले विचार मात्रै ल्यायो कार्यन्वयन गर्ने स्रोत ल्याउन सकेन ।’

समस्या समाधानका निम्ति निश्चित स्रोतको आधार तय हुनुपर्ने उनले बताए । नेपाली कांग्रेस पुँजीको बाटोमा नभएर समाजवादमा जान चाहने पार्टी भएको उनले सुनाए ।

आफूले सय दिन मन्त्रालयबारेमा बुझ्नै लागेकाले अब परिणाममुखी काम गर्ने दाबी गरेका छन् । ‘मलाई बुझ्नुपर्ने केही पनि छैन । त्यसो भनेर सबै जानेको छु मैले भनेको होइन । तर, कामहरु अगाडि बढाउदा आधारभूत विषयहरुलाई हामीले बुझेर योजनाहरु बनाइसकेका छौं’, उनी भन्छन्, ‘योजना शुत्रबद्ध ढंगबाट प्रस्तुत गरिसकेका छौं । अब त्यसलाई कार्यन्वयन लिएर जानका निम्त्ति हामीले धमाधम काम गरिरहेका छौं । जून एक सय दिनमा कामहरु ग¥यौं । त्यो कामहरु धेरै लागत लाग्ने कामहरु होइनन् । ’

एकै पटक अनुभूति हुने गरि परिणाम ल्याउन गाह्रो रहेको मन्त्री पौडेलले बताए । त्यसका निम्ति आफूले बुझ्ने कोशिष गरिरहेको उल्लेख गरे । अबको सय दिनमा देखिने गरेर काम गर्न सक्षम भएको उनको जिकिर छ ।

‘पहिलो सय दिन बुझ्ने कोशिष गर्नै लाग्यो । म स्वास्थ्य क्षेत्रको प्राविधिक थिइन । हुटहुटी थियो, छ’, उनको प्रतिबद्धता छ, ‘तर त्यो हुटहुटीलाई पूरा गर्नका निम्ति प्राविधिक पक्षलाई पनि राम्रोसँग बुझ्नुपर्ने हुन्छ । गएको सय दिन नढाँटी भन्दा बुझेकाहरुसँग जान्ने कोशिष गरें । ’

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.