पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानका उपलब्धिमाथि सामाजिक सञ्जालको दुरुपयोगमार्फत प्रहार गरेको बताएका छन् । पूर्वाधार विकासलाई ध्वंश पार्ने र नकरात्मक सोंचलाई स्थापित गर्नलाई गतल भाष्य निर्माण भएको उनको भनाइ छ ।
संविधानको कार्यान्वयनले मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव भएको उनले बताए । ‘संविधानले अधिकार दिएको मात्र छैन । कर्तव्यवोध पनि देखाएको छ’, मुख्यमन्त्री पाण्डेले स्मरण गराए ।
संविधान दिवसको अवसरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्मन्त्री पाण्डेले जेन–जी पुस्ताले उठाएका विषय सामूहिक जिम्मेवारी भएको उल्लेख गरे । उनी भन्छन्, ‘जेनजी पुस्ताले उठाएका सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति यी हाम्रो साझा लक्ष्य हुन् र सामुहिक जिम्मेवारी पनि हो ।’
लोकतन्त्रमा नागरिकको आवाज र अधिकारको सम्मान गर्नुपर्ने दायित्व सरकारको रहने मुख्यमन्त्री पाण्डेले बताए । सरकारलाई झकझक्याउने, दबाब दिने माग पूरा गराउन संवैधानिक उपायको अवलम्बन स्वागतयोग्य भएको उनको ठहर छ । तर, सार्वजनीक तथा निजी सम्पत्ती माथिको तोडफोड, आगजनी, लुटपाटलाई नियन्त्रण गर्दै नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूती दिलाउन कर्तव्य सरकारको भएको बताए ।
गण्डकी प्रदेश सरकार सुशासन र पारदर्शिताको सवालमा दृढ रहेको मुख्यमन्त्री पाण्डेको दाबी छ । गण्डकी प्रदेश सरकारले राईड शेयरिङमार्फत युवाहरुलाई रोजगारी सिर्जना गर्ने, चालु खर्च कटौती, कार्यालय समायोजन, दरबन्दी कटौती र व्यवस्थापन मार्फत शुसासन कायम गर्दै मितव्ययी शासन प्रणालीलाई अंगिकार गरेको जानकारी गराए । ‘हामीले सुरु गरेका यी पहलहरू केवल प्रशासन सुधारको लागि मात्र होइन । युवा पुस्ताको आशा र विश्वास पूरा गर्न हो’, उनले भने ।
जेन–जी आन्दोलनको नामा निजी क्षेत्रमा भएको आक्रमणको मुख्यमन्त्री पाण्डेले निन्दा गरे । पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरि आन्तरिक तथा बाह्य पर्यटकसँगै लगानी भित्र्याउने गण्डकी प्रदेश सरकारको दिर्घकालीन योजनामा आन्दोलनका नाममा निजी क्षेत्रमाथि भएको आक्रमणले वातावरण धमिल्याएको छ’, उनी भन्छन्, ‘हजारौँ रोजगारी सिर्जना गरेका र देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएका करदाता ब्यवशायीमाथिको आक्रमणको छानबिन गरि दोषिलाई कानूनी दायरामा ल्याउनु जरुरी छ ।’