दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाले २० जना विभिन्न किसिमका अपाङ्गता भएकाहरुलाई परिचय पत्र प्रदान गरेको छ । शुक्लागण्डकी नगरपालिका अपांगता समन्वय समतिका बैठकका क्रममा नगरपालिकाले परिचय पत्र प्रदान गरेको समतिका सदस्य एवं अपांगता अधिकारकर्मी दामोदर रेग्मीले जानकारी दिए ।
उक्त कार्यक्रममा पूर्ण अपांगता भएका व्यक्तिहरुलाई प्रदान गरिने रातो परिचय पत्र ३ जनालाई, अति अशक्त अपांगता भएका व्यक्तिहरुलाई प्रदान गरिने निलो परिचय पत्र ११ जनालाई, मध्यम अपांगता पहेलो परिचय पत्र ४ जनालाई र सामान्य अपांगता परिचय पत्र २ जनालाई प्रदान गरिएको छ ।
समितिका सदस्य सचिव एवं सामाजिक शाखा प्रमुख हेमा पोख्रेलका अनुसार गम्भिर अपांगता भएका व्यक्तिहरुलाई उनिहरुको अवस्थाअनुसार निजहरुको घरैमा गएर सेवा प्रदान गर्ने योजना अनुसार वडा नं. ५ बेलचौतारामा रहेका दुई मध्ये एक जना पूर्ण अपांगता र अर्का एक जना अति अपांगता भएका व्यक्तिहरुलाई उनिहरुकै घरमा गएर परिचय पत्र वितरण गरिएको छ । बैठकले बौदिक अपांगता भएका व्यक्तिहरुको तर्फबाट अभिभावक निरु बस्नेतलाई मनोनित गरेको छ ।
परिचय पत्र वितरण गर्दै शुक्लागण्डकी नगर प्रमुख कृष्णराज पंडितले अपांगता भएका व्यक्तिहरुको सेवा सुविधा र उनिहरुको हक अधिकारको लागि नगरपालिका सदैव तल्लिन रहेको बताउँदै उपचार तथा अन्य सवालमा अपांगता भएका व्यक्तिहरुलाई समस्या परेमा आफ्नो निजि श्रोतबाट पनि गरिरहेको र अव आवश्यक परेका बेला पनि गर्ने प्रतिवद्धता व्यक्त गरे ।
समितिका संयोजक नगर उपप्रमुख खुमबहादुर वि.क. राजुले अपांगता भएका व्यक्तिहरुको अवस्था र मर्म अनुसारको परिचय पत्र वितरणमा कुनै कसुर नहुने बताए ।
समितिले भोली भाद्र २६ गतेदेखि र २७ गत वडा नं. ११ र १२ मा रहनुभएका पूर्ण र अति अपांगता भएका व्यक्तिहरुका लागि परिचय पत्र घरैमा गएर वितरण गर्ने जानकारएको छ ।