दुलेगौंडा । तनहुँको भिमाद नगरपालिका– ८ भागर अहिले रातको समयमा पनि उज्यालिएको छ । बढ्दो मानव वस्तीको सुरक्षाका लागि भाले ढुङ्गा सामुदायिक वन उपभोक्ता समितीले पोल बत्ती राखिदिएपछि गाउँ नै झलमल्ल बनेको हो ।
वनका तत्कालिन अध्यक्ष स्व. कमल कुंवरले वस्तीमा सम्भावित घटनाहरु न्यूनिकरण गर्ने भन्दै पोल पोलमा बत्ती राख्ने निर्णय गराएका थिए । कुंवरको कार्यकालमा गाउँका ४२ पोलमा बत्ती जडान गरिएको थियो ।
सामुदायिक वन उपभोक्ता समितिका लगानी र त्रिवेणी टोल विकास समितिको प्राविधिक सहयोगमा बत्ती जडान भएपछि भागरमा रातमा बाहिरबाट आउने युवाहरु र मदिरा खाएकाहरुले गर्ने होहल्ला कम हुदै जान थालेको समितिका अध्यक्ष कमल कंडेलले जानकारी दिए ।‘गाउँबासी सुरक्षित भएको महशुष गरेका छन्, आवारा केटाहरुले रातको समय गर्ने होहल्ला कम हुदै जान थालेको छ ।’ कंडेले भने ।
सामुदायिक वन उपभोक्ता समितिले आम्दानीको निश्चित प्रतिशत रकम सामाजिक कार्यमा लगानी गर्न सक्ने प्रावधान अनुसार गाउँमा पोलबत्ती जडान गरिएको सचिव कृष्णबहादुर खत्रीले जानकारी दिए ।