दुलेगौंडा । तनहुँमा कालो बजारी गरेर उपभोक्तालाई ठगी गरेको आरोपमा एक व्यक्ती पक्राउ परेका छन् ।
जिल्लाको म्याग्दे गाउँपालिका २ रिमलेका अर्जुनबहादुर रानाभाटले वस्तुको बजार मुल्य छोपिने गरि आफु खुसि मुल्य टाँस गरेर ठगी गरेको पाइएकाले पक्राउ गरेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।
रानाभाटले जामुने रिमलेमा पृथ्वी राजमार्गमा यात्रा गर्ने यात्रुलाई लक्षित गरी पोखराहाइवे रेष्टुरेण्ट एण्ड खाजा घर सञ्चालन गर्दै आएका थिए । उनले कम्पनीको स्टीकर छोपेर आफु खुसि मुल्य राखेर सामान विक्री गर्दै आएका थिए ।
उपभोक्ताले रानाभाटको कर्तुतबारे प्रहरीलाई जानकारी गराएपछि जिल्ला प्रशासन कार्यालय तनहुँ र जिल्ला प्रहरीकार्यालय तनहुँले संयुक्त रुपमा गत बिहीबार अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा प्राप्त सुचना अनुसार रानाभाटले कालो बजारी गरेको पाइएपछि दोहोरो लेबलिङ गरीएका सामान सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी नायव निरिक्षक मोहनबहादुर खाँणले बताए ।
उनका अनुसार रानाभाट बिरुद्द केहि अन्य सामाजिक अपराध तथा कालो बजारी कसुरमा चारदिनको म्याद लिएर अनुसन्धान भैरहेको छ ।