शुक्लागण्डकीको कृषि शाखा सिकिस्त, निको पार्न लाचार जनप्रतिनिधि

तनहुँ

शुक्लागण्डकी नगरपालिकाको कृषि शाखा पछिल्लो समय निकै विवादित छ । कहिले कर्मचारीबीच कार्यालयमै मुक्का हानाहान त कहिले कर्मचारीको फेसबुक स्टाटसले विवादको चुलीमा उचालेको हो ।

कर्मचारीदेखि जनताको मत लिएर सेवा गर्न आएका जनप्रतिनिधि विवादमा चुइक्क बोल्दैनन् । छानविन समितिसम्म बनाउने हिम्मत जुटाउन नसक्नुले पनि जनप्रतिनिधि कतिसम्म लाचार छन् प्रस्ट हुन्छ ।

राजीनामा दिएका कृषि विकास शाखा ढोरफिर्दीमा कार्यरत नायव प्राविधिक सहायक भरतप्रसाद जैंसीले हाकिमहरु कृषकप्रति उत्तरदायी नभएको दाबी गरेका छन् । उनले फेसबुकमा लामो स्टाटस लेख्दै हाकिमहरु कृषकप्रति उत्तरदायी नभएकाले पदमा बसीरहनु उचित नभएको आरोप लगाएका हुन् । कृषि शाखा प्रमुख नवराज पण्डितसँगै प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले मानसिक दबाब दिएको उनको आरोप छ ।

‘यो शाखामा कार्यरत मेरा सम्पूर्ण हाकिम साबहरु कृषकप्रति उत्तरदायी, जवाफदेही नहुनु, जुनियर कर्मचारीलाई दमन गर्नु, आफ्नालाई भनेपछि नियमविपरित काम गर्ने, प्रमुख प्रशासकीयको नजिक हुनेलाई नियम विपरित सुविधा दिनु, तत्थहीन आरोप लगाउनु, दुनियाँको डाइभर बन्न दबाब दिनु र मानसिक रुपमा टचर दिने काम गर्नुका साथै कृषकको हित हुने भावी योजना ल्याउने प्रयास नगर्नु अन्य काम गर्ने तरिकाप्रति मेरो पुर्ण रूपमा असन्तुष्टि रहेको छ’, आरोप सहित उनले लेखेका छन् ।

चेतावनी दिदै उनले भनेका छन्, ‘यो पोष्टले कसैलाई आपत्ति हुन्छ भने चर्चित पत्रकार बोलाउनुस लाइभ कार्यक्रम गरौँ म तपाईहरुसँग बहस गर्न चहान्छु ।’

कसैको चाकडी गरेर, खुट्टा ढोगेर, चिप्ला कुरा गरेर जागिर नखाने उनको जिकिर छ । काम गर्ने क्रममा गल्ती कमजोरी भएमा आफू कानुनले प्रमाणित गरेको सजाय भोग्न तयार रहेको बताएका छन् ।

जैंसी २०७४ साउन १ गतेदेखि नायव प्राविधिक सहायक (करार) पदमा कार्यरत थिए । उनी कृषि विकास अधिकृत नवराज पण्डित निकटका कर्मचारीका रुपमा चिनिन्थे । तर, पछिल्लो समय पण्डित र जैंसीबीच खटपट सिर्जना भएको देखिन्छ । त्यसैले पनि उनले राजीनामा बुझाएका छन् ।

जैंसीले असार ३० गते राजीनामा बुझाएका हुन् । राजीनामा पत्रमा उनले कृषि अधिकृत दिपकुमार उपाध्यायले इज्जतमा आँच आउने गरेर अपवाह फैलाएको लेखेका छन् ।

उपाध्यायले केही महिना पहिले कृषि शाखामै कार्यरत कर्मचारी सूर्य अधिकारीलाई कार्यालयमै मुक्का हानेका थिए । त्यो पनि हाकिम नवराज पण्डितकै कार्यकक्षमा उनकै अगाडि । पछि पण्डितको पनि एक एक पोल खोल्दिने बताएपछि उपाध्यायसँग स्पष्टिकरण सोधजस्तै गरियो र घटना सामसुम पारियो । उसो त कृषि विकास अधिकृत नवराज पण्डित शुक्लागण्डकीका मेयर कृष्णराज पण्डितका सहोदर भाइ हुन् ।

जैंसीको राजीनामा पत्रमा आर्थिक बर्ष २०७४÷७५ देखि हालसम्म भएका कृषिका कार्यक्रम उपर छानविन गर्न अनुरोध छ । उनको अनुरोध र चेतावनीले शुक्लागण्डकीको कृषि शाखा सिकिस्त भएको आम सर्वसाधारणलाई भान भएको छ । तर, टुलुटुल रमिता हेरिबसेका उच्च ओहोदाका कर्मचारी र जनताको सेवक भन्ने जनप्रतिनिधिले छानविन गरेर सत्यतत्थ प्रस्तुत गर्छन समयले नै बताउनेछ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.