दुलेगौंडा । श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव २०८० को आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको छ । धार्मिक महोत्सव मुल समारोह समितिले बुधबार धाममा आयोजना गरेको समिक्षा कार्यक्रममा आर्थिक हिसाब सार्वजनिक गरिएको हो ।
साउन ८ गतेदेखि १५ गतेसम्म चलेको धार्मिक महोत्सवमा ३६ लाख ६० हजार २ सय उनन्सत्तरी दान संकलन भएको धाम कार्यसमितिका कोषाध्यक्ष शिव गर्तौलाले जानकारी दिए । यसमध्ये ४ लाख ३० हजार रकम दानसंकल्प गरिएको भएपनि रकम प्राप्त हुन बाँकी नै रहेको गर्तौलाले स्पष्ट पारे । महोत्सवमा १७ लाख ३ हजार ७१३ रुपैयाँ खर्च भएको तथा १५ लाख २५ हजार ८ सय उनन्सत्तरी रुपैयाँ बचत भएको आयोजकले जनाएको छ ।
बचत रकम च्यवनधाम र गौशालाको विकास एंव् व्यवस्थित सञ्चालनका लागि खर्च गरिने धामका अध्यक्ष होमनाथ लम्सालले जानकारी दिए । बचत रकमको आधा हिस्सा शुक्लागण्डकी गौ संरक्षण केन्द्रमा आवश्यक घेराबार, गोठ निर्माण लगायतका पुर्वाधार निर्माण कार्यमा खर्च गरिने र आधा हिस्सा धामको वयवस्थापन तथा विकासमा खर्च हुने लम्सालले बताए ।
समिक्षा कार्यक्रममा शिव महिमा बोलबम धार्मिक महोत्सव २०८० मुल समारोह समितिका संयोजक शुक्लागण्डकी उद्योग वाणिज्य संघका अध्यक्ष विमल प्रसाद रिमाल, विभिन्न उपसमितिका संयोजकहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा संयोजक रिमालले च्यवनधाम र गौ संरक्षण केन्द्रको विकास गर्ने पवित्र उदेश्यले आयोजित कार्यक्रमको संयोजन गर्न पाउँदा खुशी लागेको बताउदै सम्पूर्ण दानवीर तथा स्वंयसेवीहरुमा धन्यवाद् व्यक्त गरे ।