काठमाडौं । पेट्रोलियम पदार्थको भाउ घटेको छ। आईतबार मध्यरातदेखि लागू हुने गरी डिजेलमा ४, पेट्रोलमा ६ र एलपी ग्यास प्रति सिलिण्डरमा १० रुपैयाँ मूल्य घटाएको नेपाल आयल निगमले जनाएको छ। नेपाल आयल निगमले स्वचालित बिक्री मूल्य प्रणाली लागू गर्दै डिजेलमा २ प्रतिशत र पेट्रोलमा २।५ प्रतिशत मुनाफा लिनेगरी कार्यविधि तयार भएको जनाएको छ।
एलपी ग्यासमा भने परल मूल्य नै कायम गरिएको छ। आईतबार रातिदेखि नै लागू हुने गरी काठमाडौं लक्षित पेट्रोलमा ६ रुपैयाँ, डिजेलमा ४ रुपैयाँ र एलपी ग्यासमा १० रुपैयाँले मूल्य घट्ने पत्रकार सम्मेलनान निगमका अध्यक्ष मधुकुमार मरासिनीले जानकारी दिए। नेपालमा स्वचालित बिक्री मूल्य लागू भएपछि भारतीय बजारभन्दा नेपालमा पेट्रोलमा १३ रुपैयाँ २७ पैसा, डिजेलमा ९ रुपैयाँ ९४ पैसा, हवाई इन्धनमा २३ रुपैयाँ ८१ पैसा र एलपी ग्यासमा १ सय ३६ रुपैयाँ ६० पैसा सस्तो हुने निगमले जनाएको छ।
मूल्य घटेसँगै पेट्रोल वर्गीकरणअनुसार तराईमा १६१ रुपैयाँ ५० पैसा, भित्री मधेशका जिल्लाहरुमा १६३ रुपैयाँ र काठमाडौंमा १६४ रुपैयाँमा झरेको छ। डिजेलको नयाँ मूल्यअनुसार तराईमा १४३ रुपैयाँ ५ पैसा, भित्री मधेशका जिल्लामा १४५ रुपैयाँ र काठमाडौंमा १४६ रुपैयाँ भएको छ।
एलपी ग्याँसको मूल्य भने देशभर १ हजार ७९० रुपैयाँ पर्नेछ। निगमले यसअघिको भारतसँगको सबै बक्यौताहरु तिरिसकेको र सरकारसँगको ३ अर्ब ५० करोड रुपैयाँ बक्यौता भने तिर्न बाँकी रहेको निगमका कार्यकारी निर्देशक उमेश थानीले बताए।