एमालेका जनप्रतिनिधिले नगरप्रहरीको अण्डकोषमा हानेपछि…

तनहुँ

नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले अण्डकोषमा प्रहार गर्दा पोखरा महानगरपालिकाका नगर प्रहरी सन्तबहादुर केसी मरणासन्न हुने गरेर घाइते भएका छन् ।

घाइते केसीको सोमबार शल्यक्रिया गरिएको छ । मेट्रोसिटी अस्पतालमा गरिएको शल्यक्रिया सफल भएको नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले बताए ।

कात्तिक १५ गते महानगरपालिकाको कार्यपालिका बैठकले करारका २८ जना कर्मचारी हटाउने निर्णय गरेपछि नेकपा एमाले रुष्ट छ । तिहार विदा सुरु भइसकेपछि नेपाली कांग्रेसको दबाबमा बसेको कार्यपालिका बैठकलाई एमालेका जनप्रतिनिधिले बहिष्कार गरे । करारका कर्मचारी हटाउने महानगरको निर्णयपछि एमालेले निरन्तर विरोध र धर्ना दिइरहेको छ ।

कात्तिक २० गते एमाले जनप्रतिनिधिले धर्ना दिएका थिए । एमाले जनप्रतिनिधि मेयर धनराज आचार्यको कार्यकक्षमा छिर्न लाग्दा नगर प्रहरीले रोकेका थिए । तर, एमाले जनप्रतिनिधिहरुले आफूहरु महानगरको सदस्य भएकाले रोक्न नमिल्ने भन्दै केही नगरप्रहरी सन्तबहादुरमाथि आक्रमण गरेका हुन् ।

‘घोप्टो परेर ढल्न लाइसक्याछु । आशिषलाई समाते । त्यहाँ पनि झम्टिन आए, विकास । विक्रम अनि, हाफ पाइन्ट लगाउने एक जना हुनुहुन्थ्यो । अर्को चिनिनँ,’ नेपाली कांग्रेसका जनप्रतिनिधिसँग अस्पतालको बेडबाट कुराकानी गरिएको भिडियोमा घाइते केसीले भनेका छन् ।
अण्डकोषमा प्रहार भएपछि घाइते केसीलाई उपचारका लागि कात्तिक २० गते नै गण्डकी मेडिकल कलेज पठाइएको थियो । त्यस दिन केसीको रिपोर्ट सामान्य भएपछि घर फिर्ता भए ।

आइतबार उनको गुप्तांग सुनिएपछि मेट्रोसिटी अस्पताल लगिएको हो । सोमबार उनको शल्यक्रिया भएको छ । अहिले अवस्था सामान्य रहेको नगर प्रहरी प्रमुख थापाले बताए । कुटपिट गर्नेलाई कारबाहीका लागि प्रहरीमा जानकारी गराएको उनको भनाइ छ । ‘प्रहरीमा मौखिक जानकारी भाछ । उजुरी सम्बन्धित व्यक्तिले दिनुपर्ने प्रहरीले भनेको छ’, थापाले भने । कसले प्रहार गरेको भनेर सीसिटिभी फुटेज हेर्ने काम भइरहेको उनले जानकारी दिए ।

एमालेले भने सन्तबहादुरलाई धरपकड हुँदा चोट लागेको बताएको छ । पोखरा–१७ की वडाध्यक्षसमेत रहेकी नेकपा एमाले संसदीय दलकी नेता राधिका शाहीले नियतबस आक्रमण नभएको दाबी गर्छिन् । ‘नगर प्रमुखसँग सूचना माग्न जाँदाखेरी भित्र जान नदिएको हुनाले धरपकड भएको हो नियतबस होइन’, उनी भन्छिन्, ‘नियतबस त हामीले प्रहरीलाई किन हान्नु छ र ? हामी जनप्रतिनिधि हो । हामीले हाम्रा कुरा माग्ने अधिकारी हुन्छ । जाँदा ढोका थुन्दा नगरप्रहरीले हामी भित्र जान पाउनुपर्छ भन्ने कुरा हो । जना नदिँदा धरपकड भयो, नियतबस कसैले उहाँलाई टार्गेट गरेको होइन ।’

एमालेका जनप्रतिनिधिले महानगरमा धर्ना दिन गएको त्यो दिन मेयर धनराज आचार्य र उपमेयर मञ्जुदेवी गुरुङ दुवै विदेश भ्रमणमा थिए ।
यता नेपाली कांग्रेसले भने नगर प्रहरीमाथि प्रहार गर्ने जनप्रतिनिधिलाई कारबाहीको माग गरेको छ । पोखरा–२ वडाध्यक्ष रहेका नेपाली कांग्रेस दलका नेता दिवसमान प्रधानांगले विज्ञप्ति जारी गर्दै कानुनअनुसारै निर्णय भएको र नगर प्रहरीमाथि हमला गर्नेलाई कारबाहीको माग गरेका छन् ।
‘आन्दोलनका नाममा गरिएका कुनै पनि अराजक एवं गुण्डागर्दीजन्य गतिविधिको हामी कडा शब्दमा घोर भत्सना गर्दछौं’, विज्ञप्तीमा उल्लेख छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.