दुलेगौंडा
मर्दी हिमाल आरोहण गरेर फर्कने क्रममा लडेर पर्यटक गाइड (पथ प्रदर्शक) वेपत्ता भएका छन् ।
नर्वेका नागरिकसँग हिमाल चढ्न सहयोगीका रुपमा गएका नुवाकोट काल्चेका ६२ वर्षीय लालबहादुर तामाङ वेपत्ता भएका हुन् ।
उनी आइतबार दिउँसो हिमाल आरोहण पूरा गरेर फर्कने क्रममा दिउँसो साढे २ बजे लडेर वेपत्ता भएको वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र) ले बताए । हिमाल आरोही नर्वेका नागरिकले हाइक्याम्प आएर साँझ ८ बजे गाइड वेपत्ता भएको स्थानीय पर्यटन व्यवसायीलाई जानकारी गराएका थिए ।
‘लालबहादुर करिब ८ सय मिटर तल खसेको छ । उनी लढेको ठाउँमा रगत लत्तपतिएको देखिन्छ’, आरोहीको भनाइलाई उदृत गर्दै वडाध्यक्ष क्षेत्रीले भने ।
वेपत्ता भएका लालबहादुरको मृत्यु भएको आशंक गरिएको छ । उद्धारका लागि होलिकोप्टर बिना सम्भव नरहेको क्षेत्रीको भनाइ छ ।
उनीहरु हिमाल चढ्नलाई शुक्रबार हाइक्याम्पबाट मर्दी हिमालतर्फ लागेका थिए । वडाध्यक्ष क्षेत्रीका अनुसार उनीहरु सनराइज कम्पनी काठमाडौंमार्फत आएका हुन् ।
टोलीमा हिमाल आरोहणका लागि आएका नर्वेका नागरिक एक जना र नेपाली ४ जना थिए । वेपत्ताको खोजीका लागि कम्पनीसँग पनि समन्वय भइरहेको छ ।