तनहुँ
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधान दिवसको शुभकामना दिएका छन्। बिहीबार वक्तव्य जारी गर्दै मुख्यमन्त्री पाण्डेले देशविदेशमा रहेका नेपालीलाई शुभकामना दिएका हुन्।
२०७२ असोज ३ गते जारी भएको नेपालको संविधानले नेपालको विविधताको सम्बोधन गरेको उनको भनाइ छ।
नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने सघाएको उनले बताएका छन्।
‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संकल्प लिएको छ। यस संविधानले नेपालको राष्ट्रिय सार्वभौमसत्ता नेपाली जनतामा निहित भएको छ र जनता राज्यशक्तिको स्रोत भएका छन्’, शुभकामना सन्देशमा भनिएको छ।
वर्तमान संविधानले निरंकुश र केन्द्रिकृत राज्य व्यवस्थाद्धारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरेको पाण्डेद्वारा जारी वक्तव्यमा उल्लेख छ। जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा आवद्ध गरेको उनको भनाइ छ।
अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व काँधमा रहेको उनले बताए। संविधानमा व्यवस्था भए अनुसार संघ, प्रदेश र स्थानीय तहलाई शक्ति र स्रोतको बाँडफाँट गर्दै संघीय प्रणालीलाई संस्थागत गर्नुपर्ने प्रमुख दायित्वलाई पूरा गर्न हामी खरोरुपमा प्रस्तुत हुनुपर्ने आवश्यकता औंल्याएका छन्। ‘जनताले हामीप्रति गरेको अपेक्षा र भरोसालाई हामीले थप मजबुत बनाउनुछ,’ उनले भनेका छन्।
संविधानको भावनालाई जनताको जीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्न प्रदेश सरकार प्रयत्नशिल रहेको मुख्यमन्त्री पाण्डे बताउँछन्। उनी भन्छन्, ‘यसका लागि संघीय र स्थानीय सरकारसँग निरन्तर सहकार्यको जरुरी छ।’