जाजरकोट भुइँचालोले कम्तिमा १५७ जनाको ज्यान लियो। सयौं घाइते भए। बढी प्रभावित जाजरकोट र रूकुम पश्चिमका कतिपय गाउँमा क्षति नपुगेका सग्ला घर भेटिँदैनन्।
शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भुइँचालो गएको थियो। त्यसयता परकम्पन आउने क्रम जारी छ। अहिलेसम्म ४ म्याग्निच्युडभन्दा ठूला परकम्पन सातचोटि आइसकेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
अब प्रश्न उठ्छ — के जाजरकोट लगायत पश्चिम नेपालमा ठूलो भुइँचालो जाने खतरा अझै बाँकी छ ?
हामीले पश्चिम नेपालको भूकम्पीय जोखिमबारे चर्चा गरेका थियौं। हामीले भनेका थियौं — पश्चिम नेपालमा ठूलो भुइँचालो नगएको पाँच सय वर्षभन्दा बढी भइसकेको छ। त्यहाँ सन् १५०५ मा ८.४ म्याग्निच्युड वा त्योभन्दा ठूलो भुइँचालो गएको थियो। पाँच सय वर्षदेखि थुप्रिएर बसेको भूकम्पीय शक्तिले लगभग ९ म्याग्निच्युडको भुइँचालो ल्याउन सक्ने भूगर्भविद्हरूले बताएका छन्।
धेरैलाई लाग्न सक्छ, जहाँ ८ वा ९ म्याग्निच्युडको भुइँचालो जाने खतरा छ, त्यहाँ ४, ५ वा ६ म्याग्निच्युडका भुइँचालाले जमिनमुनि थुप्रिएको शक्ति बिस्तारै बाहिर निकाल्छ होला। यही आधारमा पश्चिम नेपालमा ठूलो भुइँचालो जाने खतरा अहिलेलाई टर्यो कि भन्ने धेरैको अड्कल हुनसक्छ।
तर भौगर्भिक रूपमा हेर्ने हो भने साना–साना भुइँचाला धेरै गएर ठूलो भुइँचालोको शक्ति निष्कासन हुन सम्भव छैन। किन त ? वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार एक म्याग्निच्युडको अन्तर हुँदा पनि भुइँचालोको शक्तिमा ३२ गुणा फरक पर्छ। भन्नुको मतलब, ६ म्याग्निच्युडभन्दा ७ म्याग्निच्युडको भुइँचालो ३२ गुणा ठूलो हुन्छ। त्यस्तै, ७ म्याग्निच्युडभन्दा ८ म्याग्निच्युडको भुइँचालो अर्को ३२ गुणा शक्तिशाली हुन्छ।
यस आधारमा पाँच सय वर्षदेखि थुप्रिएको भूकम्पीय शक्ति निष्कासन हुन कति म्याग्निच्युडको भुइँचालो कतिचोटि जानुपर्छ भनेर हिसाब गरौं।
हामीले पश्चिम नेपालमा ९ म्याग्निच्युडको भुइँचालो जाने शक्ति थुप्रिएको छ भनेर माथि भनिसक्यौं। त्यो शक्ति जम्मै निष्कासन हुन ८ म्याग्निच्युडको भुइँचालो ३२ चोटि जानुपर्छ। त्यस्तै, ७ म्याग्निच्युडको भुइँचालो हजारचोटि गएपछि बल्ल ९ म्याग्निच्युड बराबरको शक्ति निष्कासन हुन्छ। यसलाई अझ सानो रूपमा हेर्ने हो भने ६ म्याग्निच्युडका भुइँचाला ३२ हजारचोटि जानुपर्छ, ५ म्याग्निच्युडका भुइँचाला त साढे १० लाखचोटि जानुपर्छ।
यही दरमा हिसाब गर्नुस् त, ४ म्याग्निच्युडका भुइँचाला कतिचोटि गएपछि ९ म्याग्निच्युड बराबरको शक्ति निष्कासन होला ? यो ३ करोडभन्दा बढी हुन आउँछ। भनेपछि, शुक्रबार रातिको जस्तो ६.४ म्याग्निच्युडको भुइँचालोले पश्चिम नेपालको भूसतहमुनि थुप्रिएको ठूलो भूकम्पीय शक्ति निष्कासन हुन व्यावहारिक रूपले सम्भव छैन।
अर्को कुरा, हामीलाई झट्ट सुन्दा ५ म्याग्निच्युडभन्दा ६ म्याग्निच्युडको भुइँचालोमा एक अंकको फरक त हो नि भन्ने लाग्न सक्छ। तर शक्तिको हिसाबले ३२ गुणा फरक परिसकेपछि त्यसले ल्याउने क्षति पनि निकै ठूलो हुन्छ। २०७२ को भुइँचालो ७.८ म्याग्निच्युडको थियो। ९ म्याग्निच्युड भनेको त्यसको तुलनामा ३२ गुणा शक्तिशाली हो। म्याग्निच्युडका हिसाबले भुइँचालो शक्तिमा यति ठूलो अन्तर हुनुको कारण के त ?
यसका लागि हामीले पृथ्वीको सतहमुनि रहेका चट्टानी खण्डहरूबारे बुझ्नुपर्छ। जसरी एउटा सुन्तलाभित्र करिब एक दर्जन केस्रा हुन्छन्, त्यस्तै १५ वटाभन्दा बढी साना–ठूला चट्टानी खण्ड मिलेर पृथ्वीको भूसंरचना बनेको छ। त्यस्ता चट्टानी खण्डको मोटाइ साढे दुई सय किलोमिटरसम्म हुन्छ।
यी चट्टानी खण्डहरूलाई वैज्ञानिक भाषामा ‘टेक्टोनिक प्लेट’ भनिन्छ। यिनीहरू एकदमै चलायमान हुन्छन्। कहीँ एउटा चट्टानी खण्ड अर्को खण्डमुनि घुस्रिन्छ। कहीँ दुइटा चट्टान एकअर्काको विपरीत दिशामा सर्छन्। कहीँ भने दुवै एकअर्काबाट फाट्टिँदै जान्छन्। भुइँचालो जान यी टेक्टोनिक प्लेट वा चट्टानी खण्डहरू सर्नुपर्छ। भूगर्भ वैज्ञानिकहरूले टेक्टोनिक प्लेटको कति ठूलो हिस्सा सर्दा कति म्याग्निच्युडको भुइँचालो उत्पन्न हुन्छ भनेर हिसाब निकालेका छन्।
यसअनुसार ४ म्याग्निच्युडको भुइँचालो जाँदा १ वर्गकिलोमिटर बराबर सर्छ भने ५ म्याग्निच्युडको भुइँचालोमा १० वर्गकिलोमिटर सर्छ। त्यस्तै, ६ म्याग्निच्युडको भुइँचालोमा १०० वर्गकिलोमिटर, ७ मा १००० वर्गकिलोमिटर, ८ मा १०,००० वर्गकिलोमिटर र ९ म्याग्निच्युडको भुइँचालोमा १००,००० वर्गकिलोमिटर खण्ड सर्छ। यसरी पृथ्वीको भूसतहमुनि रहेका चट्टानी खण्ड वा टेक्टोनिक प्लेटको जति ठूलो हिस्सा सर्यो, त्यति नै ठूलो भुइँचालो जाने हुँदा त्यसको शक्तिमा आनका तान फरक पर्छ।
अब आफैं अन्दाज लगाउनुस् त, सय वर्गकिलोमिटरको चट्टान सर्दाभन्दा हजार वर्गकिलोमिटरको चट्टान सर्दा कति ठूलो कम्पन उत्पन्न हुन्छ होला ? त्यस्तै, दस हजार वर्गकिलोमिटरको चट्टान सर्दाभन्दा एक लाख वर्गकिलोमिटरको चट्टान सर्दा झन् कति ठूलो कम्पन महसुस हुन्छ होला ?
भन्नुको मतलब, पाँच सय वर्षदेखि पश्चिम नेपालमा जति ठूलो भूकम्पीय शक्ति जम्मा भएर बसेको छ, त्यो शक्ति शुक्रबार रातिको जस्तो ६.४ वा त्यही हाराहारीको भुइँचालोले निष्कासन हुन सम्भवै छैन। यसका लागि ठूलै धक्काको खाँचो पर्छ। र, त्यो धक्का जुनसुकै बेला जानसक्छ।
भूगर्भ विज्ञानले भुइँचालोको जोखिम पूर्वानुमान गर्न सक्छ, तर भुइँचालो कहिले जान्छ र कत्रो जान्छ भनेर भविष्यवाणी गर्न सक्दैन। त्यसैले पश्चिम नेपालमा लगातार गइरहेका भुइँचालाबाट हामीले खतराको घन्टी बज्यो भन्ने बुझ्नुपर्छ। आगामी दिनमा पनि पश्चिम नेपाललाई केन्द्रविन्दु बनाएर अझै ठूलो भुइँचालो जाने खतरा छ भनेर तयार हुनुपर्छ। त्यसको केन्द्रविन्दु चाहिँ जहाँ पनि हुन सक्छ — जाजरकोट हुनसक्छ, बाजुरा वा बझाङ हुन सक्छ; अछाम हुन सक्छ, डोटी वा डोल्पा पनि हुन सक्छ !
यसबारे भूगर्भविद् दिपक चाम्लागाइँले केही समयअघि हामीसँग भनेका थिए, ‘जमिनमुनि थुप्रिएको भूकम्पीय शक्ति भनेको टिकटिक गरिरहेको टाइम बमजस्तै हो। पड्किन त अवश्यक पड्किन्छ, कुन बेला पड्किन्छ भन्ने चाहिँ थाहा हुँदैन। पड्किन्छ भन्ने यकिन भइसकेपछि ठूलोभन्दा ठूलो जोखिमको निम्ति पूर्वतयारी गर्नु नै बुद्धिमानी हुन्छ।’
उनले अगाडि भनेका थिए, ‘आजको मितिमा पश्चिम नेपाल भूकम्पीय जोखिममा छ भन्ने थाहा भइसकेपछि क्षेत्र विभाजन गरेर जनसंख्या बढी भएका ठाउँमा जमिनको कम्पन मापन गर्न सकिन्छ। यसलाई ‘माइक्रो–ट्रेमर’ परीक्षण भनिन्छ। यसले कुन ठाउँको जमिन भुइँचालोका हिसाबले कति जोखिममा छ भनेर छुट्टयाउँछ।’
यो अध्ययनबाट भुइँचालो जाँदा कुन ठाउँको माटोले कस्तो प्रतिक्रिया दिन्छ भन्ने थाहा हुन्छ। त्यसै आधारमा भूकम्पीय हिसाबले घर बनाउन योग्य जमिन निर्धारण गर्ने र कुन ठाउँमा कति अग्लो संरचना बनाउन दिने भनेर नियम लागू गर्न सकिने चाम्लागाइँ बताउँछन्।
यसबाहेक सबै ठाउँमा भूकम्प प्रतिरोधक घरहरू बनाउने नियम कडाइसाथ लागू गर्ने र जोखिमयुक्त ठाउँका बस्तीलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने भूगर्भविद्हरूको भनाइ छ।