तनहुँ खबर

बजारमा म्याद गुज्रेका सामान छ्यापछ्याप्ती

अशोक विश्वकर्मा । नेपालीहरुको मुख्य चाडपर्व नजिकै जादाँ स्थानीय सरकारले बजार अनुगमनलाई तीव्र बनाउन थालेको छ । नागरिकलाई चाडपर्वमा गुणस्तरहीन खाद्यवस्तुको उपभोग गर्न बाट जोगाउनुका साथै सुपथ मुल्यमा खाद्य सामाग्री प्राप्त गरुन् भन्ने उदेश्यले तनहुँको शुक्लागण्डकी नगरपालिकाले आईतबारदेखि बजार अनुगमन गरेको हो ।

अनुगमनका क्रममा बजार क्षेत्रमा म्याद गुज्रेका खाद्य सामाग्री छ्यापछ्याप्ती फेला परेका छन् । आईतबार नगरपालिकाको दुलेगौंडा बजार र सोमबार खैरेनीटार बजार क्षेत्रका गरिएको अनुगमनमा उपभोग मिति अन्त्य भएका पेय पदार्थ र खाद्य सामाग्रीहरु फेला परेको अनुगमन समितिका सदस्य तथा नगरपालिकाका राजश्व शाखा प्रमुख रामचन्द्र सुवेदीले जानाकारी दिए । उनले जफत गरिएको यस्ता सामाग्री  नगरपालिकाले रितपूर्वक नष्ट गर्ने बताए ।

बजार क्षेत्रमा विशेष गरि टुवोर्ग वियर, जुस जन्य पेय पदार्थ, सुजि, विभिन्न प्रकारका पिठो, मसला लगायतका सामाग्री म्याद गुज्रिएको अवस्थामा फेला परेका छन् । यस्ता सामाग्रीहरु ग्रामिण क्षेत्रका ग्राहकहरुले बढी किनमेल गर्ने पसलमा फेला परेका छन् भने म्याद गुज्रेका वियर र अन्य पेय पदार्थ खाजा घरहरुमा निर्वाध रुपमा विक्री वितरण भईरहेको पाइएको छ ।

बजार अनुगमनमा सहभागि भएका शुक्लागण्डकी नगरपालिकाका प्रशासन शाखा प्रमुख तथा अनुगमन समितिका संयोजक लक्ष्मण लम्सालले ग्राहक र विक्रेता दुवै सचेत हुनुपर्ने बताए । बजारमा चाडपर्वलाई लक्षित गरेर म्याद गुज्रेका र म्याद गुज्रन केही दिन बाँकी भएको सामानहरु प्रशस्त पाइएको हुदाँ सचेत भनेर किनमेल गर्नुपर्नेमा लम्सालले जोड दिए ।

अनुगमनमा यहाँका कर्मचारी, प्रहरी, पत्रकार र जनप्रतिनिधीहरु सहभागि छन् ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!