तनहुँ खबर

शुक्ला नाग ढुङ्गा शवदाह गृहको साधारणसभा सम्पन्न

दुलेगौंडा । श्री शुक्ला नाग ढुङ्गा शवदाह गृहको तेस्रो साधारण सभा सम्पन्न भएको छ । बेलचौतारा स्थित तालडाँडा सामुदायिक वन उपभोक्ता समितिको भवनमा सम्पन्न साधारण सभा मार्फत समितिले शवदाह गृहको अवस्थाको बारेमा जानकारी दिएको थियो ।

शवदाह गृह निर्माणदेखि हालसम्म र अवका भावि योजनाका बारेमा समितिका सचिव हरिराज अधिकारीले जानकारी दिए । अधिकारीले शव राख्ने ढुङ्गा समेत नपाईने अवस्थालाई सुधार गरेर अहिले व्यवस्थित शवदाह स्थलदेखि आधुनिक पार्कसम्मको संरचना निर्माण गर्न सफल भएको बताए । उनले शवदह स्थललाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना अनुसार कार्य भईरहेको बताउदै सरकारी, गैरसरकारी र दानविरहरुबाट हुने सहयोगको अपेक्षा राखेको जानकारी दिए ।

अध्यक्ष बाबुराम कार्कीको सभापतित्वमा सम्पन्न भएको साधारण सभामा कोषाध्यक्ष आरती सुवेदीले हालसम्म शवदाह स्थल निर्माणका लागि ५८ लाख ५७ हजार ६२७ रुपैया खर्च भएको प्रतिवेदन पेश गरिन् । उनले शवदाह स्थल निर्माणका लागि चौतर्फी सहयोग प्राप्त भएको जानकारी दिदै ८८ लाख ३५ हजार बढी आम्दानी गर्न सफल भएको बताईन् । उनका अनुसार शवदाह गृह ब्यवस्थापन समितीको २९ लाख ७७ हजार ७६२ रुपैयाँ बचत रहेको छ ।

दोस्रो अधिवेशन सहितको साधारण सभालाई सम्वोधन गर्दै शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले बेलचौतारामा वडाबासीहरुको एकता उदाहरणीय रहेको बताए । मेयर पण्डितले विकास निर्माणमा गरिने साझेदारीमा शुुक्लागण्डकी नगरपालिका– ५ उत्कृष्ट भएको दावि गर्दै विकासका योजना सञ्चालन गर्न सहज भएको बताए । उनले शवदाह गृहको व्यवस्थापन र विकास गर्न समिति सफल भएको भन्दै आगामी योजनाहरु सफल बनाउन नगरपालिकाबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिका –५ का वडाध्यक्ष दिर्घबहादुर थापाले विकास र सिकाईको अन्त्य नहुने बताउदै शवदाह स्थलको विकास गर्न अझै धेरै काम गर्न बाँकी रहेको बताए । उनले वडामा सञ्चालन हुने कुनै पनि योजना सफल बनाउन वडावासीको सकरात्मक सहयोगको अपेक्षा गरेको बताए ।

शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले शवदाहको निर्माण र विकासको कार्य नमुना योग्य भएको दावि गर्दै अन्यले समेत सिको गर्न योग्य रहेको बताए ।

कार्यक्रममा शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनाल, सल्लाहकार तथा समाजसेवि प्रेमप्रसाद लालचन, तालडाँडा सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष पदम प्रसाद तिमिल्सेना, स्थानीय अमृता तिमिल्सेना लगायतले नागरिकको अन्तिम संस्कारका लागि अपरिहार्य आवश्यकताको रुपमा रहेको काम सफल रुपमा भईरहेको भन्दै खुशी व्यक्त गरे । उनीहरुले जुझारु समितिको प्रशंसा गर्दै सकरात्मक प्रयासलाई सफल बनाउन सहयोग गर्ने बताएका थिए ।

साधारण सभाका अवसरमा शवदाह गृह निर्माणका लागि आर्थिक सहयोग गर्ने मेयर पण्डित सहितका दानविरहरुलाई सम्मान समेत गरिएको थियो ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!