दुलेगौंडा । प्रत्येक १०/१० बर्षका अन्तरालमा हुने राष्ट्रिय जनगणनाको जिल्लागत तथ्याङ्क तनहुमा सार्वजनिक गरिएको छ । दमौलीमा भएको एक कार्यक्रम मार्फत तनहुँको कुल संख्या तीन लाख २१ हजार एक सय ५३ रहेको तथ्याङ्क कार्यालयका निर्देशक जगुलाल बस्यालले जानकारी दिए ।
कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार तनहुँमा महिला एक लाख ७१ हजार ५९ र पुरुष एक लाख ५० हजार ९४ रहेका छन् । सबैभन्दा बढी मगरको संख्या रहेको छ । तथ्याङ्क अनुसार मगरको जनसंख्या ८३ हजार छ सय ३९, क्षेत्री ३६ हजार आठ सय ३३, ब्राम्हण ३६ हजार छ सय ७२ र गुरुङ ३५ हजार एक सय ८४ रहेका छन् । सबैभन्दा कम राजपुतको जनसंख्या नौ रहेको छ । त्यस्तै कायस्थ ११, कोचे १२, लोहरुङ १३, धिमाल १३, भूमिहार १४ र छन्त्यालको जनसंख्या १५ रहेको बस्यालले जानकारी दिए ।
विसं २०६८ सालमा ६० जातजातीको बसोबास रहेको तनहुँमा १० बर्षको अन्तरालमा मगर, क्षेत्री, ब्राह्मण, गुरुङ, विश्वकर्मा, नेवार, मिजार, परियार, कुमाल, ठकुरी, मुसलमान, बोटे, सन्यासी, दुरा, राई, सुनुवार, माझी, घले, गाइने, यादव, कमार, खवास, थकाली, बराम लगायत ६७ जातजाती गणनाका क्रममा पहिचान भएको उनले बताए ।
बस्यालले तनहुँमा जनसंख्या बृद्धिदर न्यून रहेको बताउदै जिल्लाका १० पालिका मध्ये ६ पालिकाको अवस्था ऋणात्मक रहेको विवरण प्रस्तुत गरे । सार्वजनिक तथ्याङ्क अनुसार जिल्लाका दश पालिकामध्ये छ पालिकाको जनसंख्या ऋणात्मक देखिएको छ । बन्दीपुर गाउँपालिकाको जनसंख्या वृद्धिदर माइनस ०.७४, भानु नगरपालिकाको माइनस .६५, भिमाद नगरपालिकाको माइनस .६७, देवघाट गाउँपालिकाको माइनस ०.९७, घिरिङ गाउँपालिकाको माइनस २.८६ र ऋषिङ गाउँपालिकाको माइनस ३.५२ जनसंख्या छ ।
यस्तै शुक्लागण्डकी नगरपालिकाको जनसंख्या वृद्धिदर १.३२, म्याग्दे गाउँपालिकाको ०.४५, व्यास नगरपालिकाको १.११ र आँबुखैरेनी गाउँपालिकाको ०.६६ प्रतिशत छ । आँबुखैरेनीमा २२ हजार दुई सय ५२, बन्दीपुरमा १८ हजार पाँच सय ३२, भानुमा ४२ हजार सात सय ९४, भिमादमा २९ हजार दुई सय ४८, व्यासमा ७८ हजार नौ सय ३९, देवघाटमा १४ हजार पाँच सय ८४, घिरिङमा १४ हजार तीन सय ३४, म्याग्देमा २३ हजार पाँच सय ७८, ऋषिङमा १७ हजार नौ सय १८ र शुक्लागण्डकीमा ५५ हजार छ सय २० जनसंख्या रहेको छ ।
तनहुँमा ४१ मातृभाषा पहिचान भएका छन् । विसं २०६८ को जनगणना अनुसार २८ मातृभाषा रहेकामा एक दशकको अवधिमा १३ मातृभाषा थपिएका छन् । सबैभन्दा बढी बोल्ने नेपाली (६२.७ प्रतिशत) रहेका छन् ।
तथ्याङ्क सार्वजनिक कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जनगणनाको तथ्याङ्कमा आधारित रहेर जिल्लाका स्थानीय तहले विकासका योजना तर्जुमा गर्नुपर्ने उल्लेख गरे ।