दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक बर्षको बजेट सहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आईतबारबाट सुरु भएको नगरपालिकाको १३ औँ नगरसभामा उपप्रमुख खुमबहादुर विक राजुले बजेट सहितका निती र कार्यक्रमहरु प्रस्तुत गरे ।
उनले प्रस्तुत गरेको निती तथा कार्यक्रममाहरु नगरपालिकाका हरेक निर्णय तथा कार्यक्रमहरु सञ्चार माध्यम र नगरपालिकाकै विभिन्न स्रोत मार्फत सार्वजनिक गर्ने बताए । उनले नगरपालिकाको कार्यसम्पादनलाई पारदर्शी बनाउन नगरबासीसँग नगरप्रमुख कार्यक्रम, उपप्रमुखसँग युवा, एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता, दलित, बालबालिका र जेष्ठ नागरिक दिवस विशेष कार्यक्रम गर्ने नीति रहेको जानकारी दिए ।
नगरपालिकाले आगामी आर्थिक बर्षमा पुर्वाधार विकासलाई प्राथमिकता दिने गरि बजेट ल्याउने भएको छ । नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ मा १ अर्व २८ करोड, ३१ लाख ३ हजारको बजेट ल्याउने जनाइएको छ । कुल बजेटबाट नगरपालिकाले विगतका बर्षहरुमा जस्तै यस वर्ष पनि पुर्वाधार विकासमा धेरै खर्च गर्ने भएको छ ।
जस्मध्ये पुर्वाधार विकासमा कुल बजेटको ४५ प्रतिशत, सामाजिक विकास तर्फ ३० प्रतिशत, आर्थिक र वातावरण विकासमा १०÷१० प्रतिशत र सुशासनलाई ५ प्रतिशत बजेट विनियोग गर्ने भएको छ ।
यस्तै नगरले आगामी आर्थिक बर्ष वडाको जनसंख्या, भौगोलिक अवस्था, राजश्व संकलन, कार्यसम्पादन मुल्याङ्कन र विकासको समग्र स्थितीलाई आधार मानेर वडाहरुलाई बजेट बाँडफाँट गरेको उपप्रमुख विकले जानकारी दिए । नगरपालिकाका मेयर कृष्णराज पण्डितको सभापतित्वमा भएको कार्यक्रममा नगरसभाका सदस्य र कर्मचारी तथा पत्रकारहरु सहभागि थिए ।