दुलेगौंडा । सिपमूलक कार्यमा संलग्न रहेका शुक्लागण्डकी नगर क्षेत्रका प्राविधिक तथा कामदारहरुले स्कुल र क्याम्पसमा आफुहरुको सिप सम्वन्धित पढाउन पाउने निती बनाउन माग गरेका छन् । नगरपालिकाले जनमैत्री बजेट बनाउन सञ्चालन गरेको बृहत सुझाव संकलन कार्यक्रममा सहभागि भएका विभिन्न क्षेत्रमा प्राविधिक काम गरेका व्यक्तिहरुले विद्यालयमा सहजीकरण गर्न सक्षम भएको दावि गर्दै विद्यार्थीलाई पढाउन पाउनुपर्ने बताए ।
सौन्दर्य व्यवसायलाई नगरपालिकाले व्यवस्थित गर्न नसकेकोमा असन्तुष्टी जनाएकी सौन्दर्यकर्मी देवि न्यौपानेले आफुहरुको सिप स्कुल कलेजका विद्यार्थीहरुलाई जानकारी गराउनुपर्ने विषय रहेको बताईन् । अर्की सौन्दर्यकर्मी मनिषा विकले सौन्दर्य पेशालाई सम्मानित र मर्यादित बनाउन नगरपालिकाले कार्यक्रम ल्याउनुपर्नेमा जोड दिईन् ।
नगर क्षेत्रमा विद्युत जडान र पलम्वर पेशा गर्दै आएको बालकुमार वाग्लेले पनि वायरिङ र पलम्विङ सम्वन्धित ज्ञान सिकाउन विद्यालय महत्वपूर्ण क्षेत्र रहेको बताए । ‘हप्ता वा महिनामा एक दिन भएपनि विद्यार्थीहरुलाई सहजीकरण गर्ने गरि आगामी आर्थिक बर्षमा कार्यक्रम बनोस्, हामी तयार छौँ ।’ वाग्लेले भने । उनले डकर्मी तथा सिकर्मी सम्वन्धि ज्ञानलाई समेत समेट्न सकिने भएकाले नगरले दक्ष जनशक्तिको पहिचान र सम्मान गर्नुपर्नेमा जोड दिए ।
सोही कार्यक्रममा निर्माण व्यवसायी संघका तर्फबाट बोल्दै निर्माण व्यवसायी धनबहादुर विकले निर्माण व्यवसायीलाई आधुनिप सिप सिकाउने कार्यक्रम आवश्यक रहेको बताए । उनले निर्माणको क्षेत्रमा लागेकाहरुको दक्षतालेनै मजबुद र सुन्दर बस्तीको कल्पना गर्न सकिने भएकाले अनुभवका आधारमा काम गरिरहेकाहरुलाई सिपमुलक कार्यक्रम आवश्यक रहेको बताए । निर्माण व्यवसायीहरुले नगरपालिकाका प्राविधिकहरुबाट दुख पाईरहेको समेत खुलासा गरेका थिए । उनीहरुका अनुसार प्राविधिकहरुले काजगी रुपमा घर निर्माण सम्पन्नताको कागज बनाईदिने, निरिक्षण गर्न नजाने र जानुपरेमा जरिवाना वा विलम्व गराउन गरेको गुनासो गरे ।
कार्यक्रममा सहभागि भएका निर्माण व्यवसायी रुकबहादुर विकले राज्यलाई कर तिरेर निर्माण व्यवसायी बनेका स्वदेशी ठेकेदारले काम नपाउने दोस्रो मुलुकका व्यक्तिहरु निर्माणको काम पाउने अवस्थाको अनुगमन हुनुपर्ने बताए । उनले स्वदेशी कामदार बेरोजगार बन्ने र विदेशी कामदार रोजगार बन्दा नगरको दक्ष कामदारसँग पुँजीसमेत पलायन भईरहेको जानकारी दिदै आगामी बर्षको नितीमा स्पष्ट कार्यक्रम तर्जुमा गर्न अनुरोध गरे ।