तनहुँ खबर

जनमैत्री बजेट बनाउन बृहत सुझाव संकलन

दुलेगौडा । देशभरका स्थानीय तहले आगामी आर्थिक बर्षका लागि बजेट सहितको निती तथा कार्यक्रम बनाउने तयारी गरिरहेका छन् । वडा र टोल टोलमा योजना माग गरि बार्षिक कार्यक्रमहरु तर्जुमा गर्दै आएको तनहुँको शुक्लागण्डकी नगरपालिकाले यस पटक भने सरोकारवालासँग बृहत छलफल गरेर सुझाव समेत संकलन गरिरहेको छ ।

नगरपालिकाले आगामी आर्थिक बर्षको बजेट जनमैत्री बनाउन योजना माग सहित सुझाव समेत संकलन गरेको हो । नगरपालिकाले यही बुधबार र विहीबार दुई दिन नगर क्षेत्र भित्र रहेका सवै वर्ग समुदायलाई बोलाएर छलफल गराएको छ ।
बुधबार तीन वटा सत्रमा नगरका सल्लाहकार सहित राजनैतिक दल, बुद्दिजीवि, नागरिक समाज, नागरिक सरोकार मञ्च, ब्यवसायी, टोल विकास सस्था र विभन्न क्लव तथा संस्थाका साथै मजदुर निर्माण ब्यवसायी प्राविधिक क्षेत्रका विज्ञहरुसँग छलफल गरि सुझाव संकलन गरेको हो ।

विहीबार नगरपालिकामा आफ्नो हित हुने गरि निती तथा कार्यक्रम बनाउन बालबालिका सहित महिला, आदिवासी, दलित, मुस्लिम, जेष्ठ नागरिक र अपाङ्गता भएका ब्यक्तिहरु सहभागि हुनेछन् । साथै दोस्रो सत्रमा कृषि सहकारी, कृषक, खानेपानी र बन उपभोक्ता समितिका पदाधिकारीहरुसँग छलफल गर्ने तयारी रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले लिखित तथा मौखिक रुपमा समेत आफ्नो सुझाव तथा योजनाहरु टिपाउन सार्वजनिक रुपमा आह्वान समेत गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लव न्यौपानेले बताउनुभयो ।

विभिन्न क्षेत्रमा संलग्न रहेको ब्यक्तिहरुसँगको छलफलपछि नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले नगरको विकासको लागि महत्वपूर्ण सिकाई उपलब्धी हासिल भईरहेको बताउनुभयो । ‘जनमैत्री बजेट बनाउन तपाईहरुको सुझाव निकै महत्वपूर्ण छ ।’ सहभागिहरुलाई सम्वोधन गर्दै पण्डितले भन्नुभयो,‘जनताको लागि खर्चहुने बजेट जनताले भने अनुसार नै विनियोजना गर्नेछौँ ।’

नगरपालिकाका उपमेयर खुमबहादुर विक राजुले सुझाव संकलनले नयाँ कार्यक्रम तय गर्नुका साथै निती निर्माणमा सहयोग पुग्ने प्रतिकृया दिनुभयो । उहाँले नगरको बजेट नागरिक मैत्री बनाउन आफुहरुले सवै प्रयत्न गर्ने प्रयास गरेको दावि गर्नुभयो । छलफलमा सहभागि भएका अधिकांशले बजेट सहितको कार्यक्रम निर्माणमा नयाँ अभ्यास भएकोमा खुशी ब्यक्त गरेका छन् भने सुझावलाई कार्यक्रममा समेटेर प्रभावकारी कार्यन्वयनमा जोड दिन समेत आग्रह गरेका छन् ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!