गोरखामा मदिरा बेच्न निषेध, एक जनाको उम्मेदवारी फिर्ता

पोखरा


जिल्ला प्रशासन कार्यालय गोरखाले मदिराजन्य पदार्थ बिक्रीवितरण गर्नलाई निषेध गरेको छ ।

भोलि बुधबारदेखि मतगणना सम्पन्न नभएसम्म गोरखा नगरपालिकाभर मदिरा बिक्रीमा रोक लगाइएको हो ।

मंसिर १६ गते गोरखा नगरपालिका–५ मा हुने उपनिर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय गोरखाले मंगलबार सार्वजनिक सूचनामार्फत मदिरा विक्रीवितरण नगर्न निर्देशन दिएको छ । निर्देशन उल्लंघन गरे कारबाही हुने सूचनामा उल्लेख छ ।

गोखरा–५ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएका एक जनाले फिर्ता लिएका छन् । एकीकृत समाजवादीका खड्गबहादुर भुजेलले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

उनको उम्मेदवारी फिर्तासँगै अब चुनावी मैदानमा ९ जना छन् । वडाध्यक्ष निर्वाचित हुने दौडमा नेकपा एमालेको तर्फबाट दुर्गामाया थापा, नेपाली कांग्रेसबाट भाइकाजी आले र नेकपा माओवादी केन्द्रका विष्णुबहादुर मगर प्रतिस्पर्धामा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका मंगलबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबका कल्पना राना, नेपाल समाजवादी पार्टीका रुपेश मगराती र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रुपसिंह राना, मंगोल नेशनल अर्गनाइजेसनबाट भवानी थापा मगर र नेशनल रिपब्लिक नेपालबाट सविना तामाङ पनि चुनावी मैदानमा होमिएका छन् ।

२०७९ मा स्थानीय तह निर्वाचनमा यो वडामा नेकपा एमालेका खिलबहादुर रानाले वडाध्यक्षमा जितेका थिए । रानाको २०७९ साल कात्तिक १० गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । एमालेले खिलबहादुरकी पत्नी दुर्गामाया थापालाई उम्मेदवार बनाएको हो ।

गोरखा–५ मा दुई हजार २२५ मतदाता छन् । गोरखकाली आधारभूत विद्यालय स्वाँरा र शिवशक्ति आधारभूत विद्यालय अमराई गरेर दुई मतदानस्थल तोकिएको छ । शिवशक्तिमा दुई वटा मतदान केन्द्र छन् ।

२०७९ सालको भएको स्थानीय तह निर्वाचनमा २ हजार १६५ मतदाता थिए । एमालेका खिलबहादुर रानाले ४५३ मत ल्याएर बाजी मारेका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी गिता थापा मगरले ४२८, नेकपा माओवादी केन्द्रकी सावित्री थापा रानाले २७४, जनता समाजवादी पार्टीका चिरञ्जिवी खनालले ६७, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्रजंग शाहले २३ र एकीकृत समाजवादी पार्टीका रोशन बानियाँले २ मत पाएका थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.