बजार अनुगमनलाई प्रभावकारी बनाइने, दर्ता अभियान चलाइने

दुलेगौंडा


शुक्लागण्डकी नगरपालिकाले बजार अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघसँगको बैठकले बजार अनुगमनलाई निरन्तरता दिदैं प्रभावकारी बनाउने निर्णय गरेको हो ।

व्यवसाय दर्तालाई नगरपालिका र उद्योग वाणिज्य संघ भएर संयुक्त अभियान चलाउने प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले बताए । ‘स्थानीय उपजको बजारीकरणमा दुई संस्था मिलेर काम गर्ने निर्णय भएको छ’, उनले भने ।

बजार क्षेत्रमा सार्वजनिक शौचालय, पार्किङ व्यवस्थापन, नगरबस सञ्चालनका लागि अध्ययन गरिने उनले जानकारी दिए । बैठकले शुक्लागण्डकीका बजार क्षेत्रमा छिटोभन्दा छिटो सर्भिस लेनको निर्माण गर्न ठेकेदार कम्पनीलाई ताकेता गर्ने निर्णय भएको लामगादेले बताए । उनका अनुसार अव्यवस्थित व्यवसायलाई व्यवस्थापन गर्ने विषयमा पनि निर्णय भएको हो ।

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति शुक्लागण्डकी–४ का सभापति बालकृष्ण विकले पृथ्वी राजमार्ग निर्माणको काम ढिलाइ हुँदा व्यवसाय चौपट भएको सुनाए । ‘सर्भिस लेनलाई छिटो बनाउनुपर्छ । बिरामी हुँदा एम्बुलेन्स हिँड्न सक्ने अवस्था छैन’, उनले भने । घुमन्ते व्यपारीलाई कारबाही गर्ने विषयमा कडाइ गर्न नगरपालिकालाई उनको सुझाव छ ।

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति शुक्लागण्डकी–२ का सभापति सुरेन्द्र तामाङले सबै व्यवसायीलाई एउटै डालोमा हालेर करको दर निर्धारण गर्न उपयुक्त नभएको बताए । ब्लक उद्योगलाई लगाइएको कर अचाक्ली महंगो भएको उनको भनाइ थियो ।


शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका महासचिव सुजन श्रेष्ठले आर्थिक मन्दीका बेला व्यवसायीले धेरै ठाउँमा कर तिर्न नसक्ने सुनाए । करको दर कम दायरा फराकिलो बनाउन नगरपालिकालाई उनको सुझाव छ । उनले भने,‘पोके व्यापारीको हकमा नगरपालिकामा दर्ता नभइकन डाँडामा पु¥याएको छ । सटर भाँडा तिरेर बसेका व्यापारीलाई मार परेको छ । घरदैलोमा जाने व्यापारीलाई त्यसै अनुसारको दर्ता गर्नुपर्छ ।’


शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठले धेरैतिर दर्ता र राजस्व तिर्न समस्या हुने जिकिर गरे । ‘करभन्दा पनि सूचिकृतमा जोड दिनुप¥यो । नगरपालिकामा सूचिकृत भएका व्यवसायीलाई मात्रै नगर उद्योग वाणिज्य संघमा आबद्ध गराउने नीति लिन्छौं ।’
व्यवसायीमा कानुनसम्मत सञ्चालन गर्नुपर्ने मानसिकता बनिसकेकाले सूचिकरणमा समस्या नरहने उनको भनाइ छ । सुस्त रहेकाले आर्थिक चलायमान बनाउन नगरपालिकाले स्थानीय उत्पादन र उद्योगलाई प्रोत्साहन गर्न उनको माग छ ।


शुक्लागण्डकी नगरपालिकाका उपमेयर खुमबहादुर विक (राजु) ले शुक्लागण्डकीका बजार क्षेत्रलाई व्यवस्थित बनाउने बताए । बजारलाई सुरक्षित बनाउन थप ८ वटा सीसिटिभी जडान हुन लागेको उनको भनाइ छ । ‘बजार व्यवस्थापनमा सडक निर्माणका कामले समस्या भएको भइरहेकाले कम्तीमा कुम्लेखोलादेखि गाछेपानीसम्म एकतर्फी भएपनि सडक कालोपत्रे गर्न पहल गरेका छौं’, उनले सुनाए । नगर उद्योग वाणिज्य संघ र नगरपालिकाबीच सहकार्य गर्न सकिने क्षेत्रका बारेमा प्रस्ताव पेश गर्न उनको आग्रह छ । म्याद नाघेका अखाद्य बस्तु र मुल्य सूचिका विषयमा कडाइ गरेर जाने उनले बताए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.