गण्डकीमा कांग्रेस एमालेको निष्कर्षः सरकारले अराजक गतिविधि नियन्त्रण गर्न सकेन


पोखरा

नेपाली कांग्रेस गण्डकी प्रदेश र नेकपा एमाले गण्डकी प्रदेशको दुई दलिय राजनैतिक संयन्त्रले सरकारले अराजक गतिविधिलाई नियन्त्रण गर्न नसकेको निष्कर्ष निकालेको छ ।


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेको पक्राउपछि पोखरामा भइरहेको आन्दोलनलाई लक्षित गर्दै कांग्रेस एमालेको ध्यानाकर्षण भएको हो ।

सहकारीको रकम ठगी, संगठित अपराधको आरोपमा पूर्वगृहमन्त्रीसमेत रहेका लामीछाने पक्राउ परेपछि रास्वपाले निरन्तर पोखरामा आन्दोलन गर्दै आइरहेको छ ।


मंगलबार नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माको अध्यक्षतामा दुई दलिय संयन्त्रको बैठक बसेको थियो । बैठकको निर्णयमा भनिएको छ, ‘ नेपालको संविधान र कानुनी राज्यको अवधारणाको विरुद्ध भइरहेको जुनसुकै अराजनैतिक, अराजक गतिविधिप्रति यो वैठकको गम्भिर ध्यानाकर्षण भएको छ । यस्ता गतिविधिहरुलाई समयमा नै नियन्त्रण गर्न नेपाल सरकारलाई अनुरोध गर्दै कानुनी राज्यको कार्यान्यवयनको लागि आवश्यक सहयोग गर्न सबै पक्ष सँग हार्दिक अपिल गर्ने निर्णय गरियो ।’


बैठकले सरकारका राम्रा कामलाई प्रचारप्रसार गर्ने निर्णय गरिएको छ । दुई पार्टीबीचको सहकार्यको आवश्यकतालाई जन समक्ष पु¥याउन र संयुक्त सरकारले गरेका काम र योजनाको पक्षमा जनमत निर्माण गर्ने निर्णयमा उल्लेख छ । ‘सरकारले गरेका कामको बारेमा समिक्षा गर्दै आवश्यकता अनुसार सरकारलाई सुझाव दिने, सहयोग गर्ने र सकारात्मक कामको प्रचार–प्रसार गर्ने’, कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा र एमाले गण्डकीका इञ्चार्ज किरण गुरुङद्वार हस्ताक्षर गरिएको विज्ञप्तीमा उल्लेख छ ।


गण्डकीका सबै जिल्लामा केन्द्रको निर्णयअनुसार संयन्त्रण निर्माण गर्ने, नेपाली कांग्रेस र नेकपा एमाले बीचमा स्थानीय तहमा कहि कतै विवाद भई समस्या आएमा सम्बन्धित निकायका दुई दल बसेर तत्काल समस्याको समाधान गरी सहकार्यलाई अझ प्रभावकारी बनाउन निर्देशन दिने, गण्डकी प्रदेशका विकास निर्माणका कार्य सम्बन्धमा दुई दलिय साझा धारणासहित अगाडि बढ्ने निर्णय गरेका छन् ।


कांग्रेस सभापति शुक्रराज शर्माको अध्यक्षतामा बसेको बैठकमा कांग्रेसकातर्फबाट गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश समितिका महामन्त्री विष्णुप्रसाद लामीछाने, एमालेकातर्फबाट गण्डकी इञ्चार्ज किरण गुरुङ, गण्डकीका एमाले संसदीय दलका नेता रहेका पूर्वमुख्यमन्त्री खगराज अधिकारी लगायतको उपस्थिति थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.