तनहुँ
तनहुँको आँबुखैरेनी गाउँपालिकाले हाटबजार विस्तार गरेको छ । आँबुखैरेनी गाउँपालिका–३ अमिलबोटेमा हरेक शुक्रबार हाटबजार सञ्चालन गर्दै आएकोमा सोमबार आँबुखरैनी–२ स्थित बसपार्क क्षेत्रमा हाटबजारको सुरुआत गरेको हो ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानले हाटबजार हप्ताको सातैदिन सञ्चालन गर्नुपर्नेमा जोड दिए । स्थानिय उत्पादनको गुणस्तर बढाउन प्याकेजिङ र ब्राण्डिङ गरेर बजारमा पु¥याउन आफू दत्तचित्त भएर लागेको उनको भनाइ छ । यस हाटबजारलाई अर्गानिक कोशेली घर बनाउनुपर्ने उनको तर्क छ ।
बसपार्कमा हाटबजार सुरुआतकै दिनमा झन्डै ४ लाख रुपैयाँको कारोबार भएको छ । गाउँपालिकाका किसान, महिला उद्यमी र स्थानीय उत्पादकले उत्पादन गरेका बस्तुको खरिदविक्री भएको थियो ।
कृषक र उपभोक्ताको मागलाई मध्यनजर गरेर हाटबजार विस्तार गरेको गाउँपालिकाका कृषि विकास अधिकृत सन्तोष केसीले जानकारी दिए ।स्वदेशी उत्पादनलाई थप प्रबद्र्धन गर्दै कृषि उपजको बजारीकरणका लागि हाटबजारको दायरा फराकिलो बनाइएको उनको भनाइ छ ।
अमिलबोटेमा २०७९ फागुन तेस्रो सातादेखि हाटबजार सञ्चालनमा आएको हो । हाटबजार सञ्चालनमा आएपछि बारीमा सिजनको बेला फलेका तरकारी, सागपात मात्रै नभएर जंगलमा पाइने निगुरो, सिस्नु, सालको पात, पानीअमला आम्दानीको गतिलो स्रोत बनेको छ । हाटबजारमा ल्याउनेवित्तिकै उपभोक्ताले खोसाखोस गर्छन् । गाउँघरका उपजले सोच्दै नसोचेको बजार पाएपछि आँबुखैरेनीका किसान दंग छन् ।
अर्गानिक र रैथाने उपज किसानबाट सिधैँ उपभोक्ताले किन्ने भएकाले विचौलियाले असुल्ने रकम पनि किसानले नै पाएका छन् । तनहुँमा हाटबजार प्रथा हराइसकेको अवस्थामा आँबुखैरेनीले सञ्चालनमा ल्याएर पहिचानको रुपमा स्थापित गर्न सफल भएको हो ।