नयाँ बर्षमा भुजिकोट स्थानथोक उकालो दौड प्रतियोगिता हुने

दुलेगौंडा-नयाँ वर्षको अवसर पारेर दोस्रो भुजिकोट स्थानथोक राष्ट्रिय खुला उकालो दौड प्रतियोगिता हुने भएको छ । ग्रामिण पर्यटन प्रबद्र्धन गर्दै पर्यटक डाक्नलाई बैशाख १ गते उकालो दौडको आयोजना गरिएको हो ।

शुक्लागण्डकी नगरपालिका–२ मा पर्ने पर्यटकीय गाउँ भुजीकोट, स्थानथोकलाई दौडको माध्यमबाट चिनाउन अन्नपूर्ण युवा क्लब कोत्रेले प्रतियोगिता आयोजना गरेको हो । २०७५ सालमा पहिलो पटक उकालो दौड भएको थियो । ७ वर्षपछि दौडलाई निरन्तरता दिन लागिएको छ ।

कोत्रेस्थित पृथ्वीराजमार्गमा रहेको लालध्वजचोकबाट सुरु हुने दौड एक्लेखेत, तार्कुडाँडा, मनवानपूर, भुजीकोट स्थानथोक हुदै भूमेभैरम कोटमा पुगेर टुंगिने उकालो दौड प्रतियोगिताका प्रवक्ता तीर्थराज खनालले जानकारी दिए । उनका अनुसार यो दूरी ९ किलोमिटर रहेको छ ।

१८ देखि ४० वर्षसम्म महिला पुरुषले प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने उनले बताए । चैत ३१ गतेसम्म नाम दर्ता गर्न सकिने आयोजकले जानकारी दिएको छ । २०० बढी धावक उकालो दौडमा सहभागी हुने प्रवक्ता खनालको भनाइ छ । अहिले १८ जना धावकले नाम दर्ता गराइसकेका छन् ।

प्रतियोगिताको विजेता धावकले ३३ हजार ३३३ रुपैयाँसहित मेडल र प्रमाणपत्र हात पार्ने प्रतियोगिता संयोजक खेम गुरुङले जानकारी दिए । उनका अनुुसार उपविजेताले २२ हजार २२२ रुपैयाँ पाउनेछन् । तेस्रोले ११ हजार १११ रुपैयाँ, चौथोले ५ हजार ५५५ रुपैयाँ, पाँचौले तीन हजार ३३३ रुपैयाँको साथमा मेडल र प्रमाणपत्रले पुरस्कृत हुनेछन् । उत्कृष्ट २० धावकलाई मेडल प्रदान गरिनेछ ।

शुक्लागण्डकी–२ का वडाध्यक्ष सुमन रानाले उकालो दौड ग्रामिण पर्यटन प्रबद्र्धनमा कोशेढुंगा सावित हुने बताउँछन् । ‘यो दौडले पर्यटनमा इट्टा थप्नेछ । संस्कृतिसँगै खेलको प्रबद्र्धनमा सघाउनेछ’, उनले भने ।

शुक्लागण्डकी नगरपालिकाकी कार्यपालिका सदस्य रितु नेपालीले पर्यटनको माध्यमबाट लाभ लिने सके समृद्धि सम्भव रहेको बताइन् । ‘पर्यटनलाई जोड दिने हो भने ग्रामिण क्षेत्रलाई अगाडि ल्याउन सकिन्छ’, उनले भनिन् ।

वडा सदस्य मानबहादुर थापाले होमस्टेको प्रबद्र्धन जरुरी रहेको सुनाए । अन्नपूर्ण युवा क्लबका अध्यक्ष अनिल खनालले अबदेखि दौडलाई निरन्तरता दिने बताउँछन् । आगामी वर्ष तीन दिने महोत्सव नै आयोजना गर्ने योजना बुनेको उनको भनाइ थियो ।

दुलेगौंडा, कोत्रे, र खैरेनीटारको शीरैमा पर्ने भुजिकोट स्थानथोकबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रेदेखि लमजुङ हिमालसम्मको लामो फेरो देखिन्छ । त्यहाँबाट पोखराका ठूला तीन ताल अवलोकन गर्न सकिन्छ ।

कोट मुन्तिरको गाउँमा गुरुङ र दगाम गाउँमा मगर समुदायको बसोबास छ । भुजिकोट, दगाम क्षेत्रका चार गाउँमा होमस्टे रहेका छन् । होमस्टेमा अपेक्षाकृत पाहुन आउन सकिरहेका छैनन् । मौरी पालनका लागि पनि यो क्षेत्र प्रख्यात छ ।

उकालो दौडको अवसर पारेर महिलाहरुबीच भाले छोप्ने प्रतियोगिता हुनेछ । यस्तै, गुलेली हान्ने प्रतियोगिता पनि आयोजना गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.