पोखरा
तनहुँको भानुभक्त बहुमुखी क्याम्पसको स्ववीयु निर्वाचनमा अनेरास्ववियुका मिनबहादुर थापा निर्वाचित भएका छन् । सभापतिमा नेविसंघकी एजिना महतलाई २३ मतान्तरले पराजित गर्दै थापा निर्वाचित भएका हुन् ।
मिनबहादुरले १२८ र एजिनाले १०५ मत प्राप्त गरे । यहाँ कुल २४१ मत खसेको थियो ।
सचिवमा अनेरास्ववियुकी विनिता भण्डारी निर्वाचित भइन् । विनिताले ११६ मत प्राप्त गर्दा सुनिल लामीछानेले १०९ मत पाएका छन् । भानुभक्तमा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) को प्यानल र नेविसंघबीच भिडन्त भएको हो ।
कोषाध्यक्षमा अनेरास्ववियुकी पुष्पा खड्का लोकप्रिय मतसहित विजयी भइन् । उनले १४५ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी रस्मिता कार्कीले ८७ मत पाएकी हुन् ।
सदस्यमा अनेरास्ववियुका अविजीत लम्साल (१३३), अञ्जली विक (११६), अनेरास्ववियुका निरञ्जन भण्डारी (११६), नेविसंघकी प्रतिक्षा गिरी (११३), र स्वस्तिका सिग्देल (११२) मत ल्याएर निर्वाचित भए । यो क्याम्पसमा २०६५ सालपछि पहिलोपटक निर्वाचन भएको हो ।
समानुपातिकतर्फ अनेरास्ववियुले ११४, नेविसंघ ९९ र अनेरास्ववियु (क्रान्तिकारी) ले २८ मत पाएको छ ।