भानुभक्त क्याम्पसको मितव्ययिता अपनाएर बैठक, जम्मा खर्च १ लाख १५ हजार !

तनहुँ

तनहुँको बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको दुई दिने विधान संशोधन तथा कार्यविधि निर्माण कार्यशाला गोष्ठी यतिबेला निकै विवादमा छ । शुक्लागण्डकीबाट जम्बो टोली कार्ययोजना निर्माणका लागि भन्दै लेकसाइडको होटलमा गएर बैठक बसेपछि विवादमा तानिएको हो ।

क्याम्पसमा कार्यरत प्राध्यापक, कर्मचारी, विद्यार्थी संगठनका प्रतिनिधि, स्ववियू पदाधिकारी सञ्चालक समिति, उपसमिति सदस्य समेत गरी ५३ जना पोखरा पुगेर शुक्रबार र शनिबार बैठक बसेको हो । विवादमा तानिएको बैठकबारे क्याम्पस प्रमुख रमेशबहादुर अधिकारीले प्रेस नोट जारी गर्दै खर्चमा मितव्ययिता अपनाएको प्रस्टोक्ति दिएका छन् ।

कार्यक्रम छोटो समयमा व्यवस्थित रुपले सञ्चालन गर्नु पर्ने अवस्था समेतलाई ध्यान दिई कार्यक्रममा सहभागीको ध्यान केन्द्रित गर्ने उद्देश्यले उपयुक्त स्थानको खोजीका रुपमा पोखरालाई चयन गरिएको उनले बताएका छन् । ‘दुई दिने कार्यक्रम रहेता पनि आर्थिक मितव्ययितालाई ध्यान दिई ५३ जना आवसीय सहभागी कार्यक्रमको जम्मा खर्च १,१५,५०० रुपैयाँ भएको व्यहोरा समेत सबैलाई जानकारी दिन चाहन्छौ’, उनले भनेका छन् ।

कार्यशालाबाट क्याम्पसको संशोधित विधान २०७८ को केही बुंदाको संशोधन प्रस्ताव तयार गरिएको क्याम्पस प्रमुख अधिकारीले जानकारी दिए । उनका अनुसार प्राध्यापक तथा कर्मचारी कार्यविधि, आर्थिक कार्यविधि, निमार्ण तथा खरिद ऐन कार्यावधि, छात्रवृत्ति सम्वन्धी कार्यविधि, स्ववियू सञ्चालन सम्बन्धी कार्यावधि, पुस्तकालय व्यवस्थापन कार्यविधि र वार्षिक योजना तथा बजेट निमार्णका मस्यौदा तयार गरिएको छ । मस्यौदालाई क्याम्पस सभा समक्ष पेश गरी अनुमोदन पछि लागू गरिने अधिकारीको भनाइ छ ।
‘चाँडै गर्नुपर्ने, धेरै कामहरु गर्नुपर्ने थियो । सञ्चालक समितिको निर्णय अनुसार पोखरा गएर गरेका हौं’, क्याम्पस प्रमुख अधिकारीले भने ।

भानुभक्त बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष दुर्गाकुमार श्रेष्ठले शुक्लागण्डकीमा भन्दा पनि कम खर्चिलो हुने भएकाले पोखरा गएर कार्यशाला गरेको बताए । पोखरा गएपछि बैठक केन्द्रित हुने उनको भनाइ छ । ‘यहाँ बैठक बस्दा धेरैले विषयको गाम्भिर्यतालाई नबुझ्ने बैठकमा पनि बस्दैनन् नजिक भएसी । टाढा लगेपछि केन्द्रित हुन्छन्’, उनले भने ।

कार्यालयमा बैठक बस्दा तलब भत्ता नहुने भएकाले पनि धेरै जना समयअवधिभर नबस्ने उनले खुलाए । ‘यो सामाजिक सेवा हो । तलब भत्ता हुदैन । घरायसी कामकाज हुन्छ । निश्चित तलबभत्ता हुदैन । तलबभत्ता हुदैन कामकाज देखाएर हिँड्ने बानी हुन्छ’, अध्यक्ष श्रेष्ठले भने ।

उनले पोखरा बैठक ऐतिहासिक भएको दाबी गरे । २०४४ सालमा स्थापना भएको क्याम्पसको हालसम्म कुनैपनि कार्यविधि नभएको अवस्थामा यसपालि कार्यविधिको प्रस्ताव तयार पारिएकाले ऐतिहासिक भएको उनको ठम्याइ छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.