बेरुजुमा तनहुँको बन्दीपूर पहिलो, शुक्लागण्डकी नगरपालिका दोस्रो

तनहुँ

मनपरी खर्चका कारण तनहुँका स्थानीय तहको बेरुजु ३० करोड माथि देखिएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२ औं वार्षिक लेखापरीक्षण प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा ३० करोड ७९ लाख २८ हजार रुपैयाँ बेरुजु देखिएको हो । तनहुँका १० स्थानीय तहको १५ अर्ब २६ करोड ३० लाख ८१ हजार रुपैयाँको लेखा परीक्षण गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

लेखापरीक्षण गरेको रकमको आधारमा बेरुजु हेर्दा बन्दीपूर गाउँपालिका पहिलो र शुक्लागण्डकी नगरपालिका दोस्रो भएको छ । सबैभन्दा कम बेरुजु तनहुँको भानु नगरपालिकाको देखिन्छ ।

बन्दीपूरको १ अर्ब ५ करोड १७ लाख २७ हजार रुपैयाँको लेखा परीक्षण भएकोमा ४.०९ प्रतिशत अर्थात ४ करोड ३० लाख ६३ हजार रुपैयाँ बेरुजु ठहर भएको छ । शुक्लागण्डकी नगरपालिकाको २.९३ प्रतिशत बेरुजु औंल्याइएको छ । शुक्लागण्डकीको १ अर्ब ६९ करोड ३३ लाख १९ हजार रुपैयाँ परीक्षण गर्दा ४ करोड ९५ लाख ८७ हजार रुपैयाँ बेरुजु छ ।

भानु नगरपालिकाको सबैभन्दा कम १ करोड १६ लाख ११ हजार रुपैयाँ बेरुजु छ । भानुको २ अर्ब ३३ करोड ३० लाख ८१ हजार रुपैयाँ परीक्षण भएकोमा ०.५० प्रतिशत बेरुजु आएको हो ।

भीमाद नगरपालिका प्रतिशतको हिसाबले बेरुजु हुने तनहुँका स्थानीय तहमध्य तेस्रो नम्बरमा छ । भीमादको १ अर्ब ४५ करोड ३५ लाख १७ हजार रुपैयाँ परीक्षण गरेकोमा ४ करोड १० लाख ४८ हजार रुपैयाँ (२.८२ प्रतिशत) बेरुजु देखिन्छ ।

देवघाट गाउँपालिकाको बेरुजु २.४२ प्रतिशत छ । १ अर्ब १० करोड ६३ लाख ७ हजार रुपैयाँ परीक्षण गरिएको हो । २ करोड ६७ लाख ७२ हजार रुपैयाँ महालेखा परीक्षकको कार्यालयले बेरुजु ठहर गरेको छ ।

घिरिङ गाउँपालिकाको ९२ करोड ५६ लाख ७४ हजार रुपैयाँ परीक्षण गर्दा २.०२ प्रतिशत अर्थात १ करोड ८९ लाख ७८ हजार रुपैयाँ बेरुजु देखिन्छ ।

आँबुखैरेनी गाउँपालिकाको बेरुजु रकम १ करोड ८४ लाख ६३ हजार रुपैयाँ छ । आँबुखैरेनीको ९७ करोड ३४ लाख ९४ हजार रुपैयाँ परीक्षण गरेकोमा १.९० प्रतिशत बेरुजु देखिएको हो ।

व्यास नगरपालिकाको ३ करोड २५ लाख ५४ लाख ५२ हजार रुपैयाँ परीक्षण गर्दा ५ करोड ९७ लाख ८९ हजार रुपैयाँ बेरुजु देखिन्छ । व्यासको १.८४ प्रतिशत बेरुजु देखिएको हो ।

ऋषिङ गाउँपालिकाको १.७५ प्रतिशत बेरुजु देखिन्छ । ऋषिङको १ अर्ब २६ करोड ८ लाख ६५ हजार रुपैयाँ परीक्षण गरिएकोमा २ करोड २१ लाख २८ हजार रुपैयाँ बेरुजु भएको निष्कर्ष महालेखा परीक्षकको कार्यालयले निकालेको छ ।

म्याग्दे गाउँपालिकाको बेरुजु १.३९ प्रतिशत छ । म्याग्देको १ अर्ब २० करोड ९६ लाख ४५ हजार रुपैयाँमध्य १ करोड ६७ लाख ८९ हजार रुपैयाँ बेरुजु देखिएको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.