‘कांग्रेस र एमालेले सरकार चलाओस्, ८४ सम्मै हामी प्रतिपक्षमा बस्छौं’

पोखरा


नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारमा जानलाई माओवादीले प्रस्ताव राखेको भ्रम फैलाउनेलाई तथ्यसहित पुष्टि गर्न चुनौति दिएका छन् । कांग्रेस एमालेका नेताले माओवादीले सरकार बनाउन प्रस्ताव राखेको सार्वजनिक मञ्चबाट दोहो¥याइरहेपछि पुष्टि गर्न चुनौति दिएका छन् । तथ्यसहित पुष्टि गरेर माओवादीले सार्वजनिक रुपमै माफी माग्ने उनको भनाइ छ ।


मंगलबार तनहुँमा नेकपा माओवादी केन्द्र आँबुखैरेनी गाउँ समितिको सम्मेलनलाई सम्बोधन गर्दै पुनले कांग्रेस एमालेले माओवादीलाई घुमाउरो पारामा प्रस्ताव राखिरहेको बताए ।


‘गगन थापाजीहरु बोल्नुहुन्छ प्रचण्डले हप्तैजसो खबर पठाइराख्नुभाछ भनेर । हामीले कोही खबर पठाएका छैनौं । एमालेका नेताहरु बोल्नुहुन्छ बाहिर माओवादीलाई छटपटी भएको छ भनेर । हामीलाई केही छटपटी भएको छैन’, पूर्व अर्थमन्त्रीसमेत रहेका पुनले चुनौति दिए, ‘म सार्वजनिक रुपमा खुला रुपमा उहाँहरुलाई चुनौति दिन चाहान्छु कुन नेताले कहिले को सँग प्रस्ताव गरेको सरकारको लागी ? तपाईहरु पुष्टि गर्नुस् तथ्यसहित । यदि त्यस्तो हो भने आम जनतासँग क्षमा माग्छौं । हामीले त्यसको गरेका छैनौं ।’


माओवादी सरकारमा जाने पक्षमा नरहेको उनको भनाइ थियो । उनले प्रतिपक्षमै बसेर जनताको सवाल उठाउने बताए । उनी भन्छन्, ‘अहिले कांग्रेस र एमालेले सरकार चलाओस् ८४ सम्मै हामी प्रतिपक्षमा बस्छौं । खबरदारी गर्छौं । जनताको पक्षमा आवाजहरु बोलिराख्छौं यो हाम्रो प्रतिबद्धता हो ।’


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारमा आएपछि भ्रष्टाचारका नयाँ घटनाहरु भइरहेको उनले बताए । त्यही कारणले सत्ता साझेदार दल नेपाली कांग्रेस ओलीसँग आजित बनेको उनको दाबी छ ।


‘सरकारको आयुका बारेमा चर्चा गरिन्छ । कांग्रेसका नेताहरु भन्नुहुन्छ हामीसँग ओलीजीका एमालेका साथीहरुका हप्तैजसो एक एकवटा काण्डहरु आउने गर्छ कतिन्जेल काँध थाप्ने । उहाँहरुको आशय कतै सरकारमा चलखेल गर्न पाए भने जस्तो’, पुनले थपे, ‘एमालेका साथीहरु भन्नुहुन्छ खोइ केही मिलिराखेको छैन कांग्रेससँग । चीन भ्रणणमा बिआरआइ गरेपछि खोइ धेरै दिन सँगै रहला जस्तो छैन लेफ्टतिर अर्थात् बामतिर पो कोर्ष हुन्छ की ? त्यसको अर्थ माओेवादीले कतै सरकारको कुरा गर्छ की आशय व्यक्त गर्नुहुन्छ ।’


अहिलेको दुई तिहाइको सरकारले जनताको पक्षमा काम नगरेको उनले बताए । नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी भनेर लगाइएको आरोपबारे जवाफ दिनुपर्ने उनको तर्क छ ।


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले फाइल खोलेको नक्कली भुटानी शरणार्थी काण्ड, गिरीबन्धु टि स्टेट, लतिला निवास प्रकरण ओली नेतृत्वको सरकार आएपछि सामसुम पारिएको उनको भनाइ छ ।


सहकारी ठगी प्रकरणमा सरकारले प्रतिपक्षलाई तर्साउने काम मात्रै गरिरहेको पुनले बताए । वास्तविक सहकारी पीडितलाई न्याय दिने काम नभएको उनको भनाइ छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेको मौलिक हकसमेत हनन हुने गरेर अनुसन्धान लम्बाइएकोतर्फ उनले असन्तुष्टि व्यक्त गरे ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.