बिल पास नगरेपछि बन्दीपुरमा वडाध्यक्षको कुटपिटले वडा सचिव घाइते

दुलेगौंडा– तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङले वडा सचिवमाथि कुटपिट गरेका छन् ।

वडाध्यक्ष गुरुङले वडासचिव नविन भुषाललाई कुटपिट गरेका हुन् । भुक्तानीको विषयमा विवाद हुँदा वडाध्यक्षले वडा सचिवलाई कुटपिट गरेको बन्दीपूरका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले पुष्टी गरे ।

उनका अनुसार भलिबल प्रतियोगिताको वडाध्यक्षले भुक्तानी गर्न दबाब दिएका थिए । सचिवले कागजत अध्ययन गरेर प्रक्रिया बढाउने बताएपछि कुटपिटमा परेको आचार्यको भनाइ थियो ।

‘उहाँ नयाँ हो । भुक्तानीका लागि पुष्टि हुने चीजहरु नदेख्दा उहाँलाई शंका लाउनु स्वभाविक नै थियो । भुक्तानीका लागि दबाब दिएर कार्यालयको पोशाकमै हातपात भयो’, आचार्यले भने ।

यो घटना सोमबार विहान १० बजेलगत्तै भएको हो । वडाध्यक्षको कुटपिटबाट घाइते भएको वडासचिवलाई थप उपचारका लागि भरतपुर रिफर गरिएको छ । उनको गाला र घाँटीमा चोट लागेको छ । बन्दीपूर अस्पतालमा प्रारम्भिक उपचारपछि चिकित्सकले रिफर गरेका हुन् ।

घटनाको विषयमा वडाध्यक्ष गुरुङसँग बुझ्ने कोशिष गर्दा आफू प्रहरीकहाँ रहेको र पछि कुरा गर्ने बताए ।

प्रमुख प्रशासकीय अधिकृत आचार्यले कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको बताउँछन् ।

वडा सचिवलाई कुट्ने वडाध्यक्ष गुरुङ नेकपा एमालेकोतर्फबाट निर्वाचित भएका हुन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.