अवकाश शिक्षकलाई विद्यार्थीले बाजा घन्काउदै घरमै पुर्याए

दुलेगौंडा
पञ्चे बाजा घन्काउदै विद्यार्थीको लावालस्कर अगिअगि । पछिपछि शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी । बीचका एक जना शिक्षकको मुहारको रङ छेकिने गरेर अबिरले पोतिएको छ । गलाभरी फूलमाला, खादा र दोसोल्लाको भारी । हर्षबढ्याँई गरेको जस्तै लाग्ने उनका पछाडि पनि विद्यार्थी र शिक्षकको लस्कर देखिन्छ ।

यो दृश्य हो ‘बालकृष्ण सर’ को विदाइको । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीमा रहेको तालबेंसी माध्यमिक विद्यालयका शिक्षक बालकृष्ण पौडेल सोमबार अनिवार्य अवकाशपछि कक्षाकोठाबाट विदा भए । विद्यालयले उनलाई तामझामका साथ विदाइ ग¥यो । विद्यार्थी आफैंले बालकृष्ण सरलाई पञ्चेबाजा घन्काउँदै घरसम्म पु¥याएर छोडे ।


कास्कीको पोखरा महानगरपालिका–३३ चवादीका बालकृष्ण सरको विदाइ देखेर स्थानीय दंग परे । किनकी यसरी अवकाश प्राप्त शिक्षकलाई विद्यार्थीले बेहुली अन्माएर पठाए जसरी बाजागाजासहित विद्यालयबाट घर पु¥याइएको दृश्य पहिलो पटक देखेका थिए । यस्तो दृश्य विरलै पनि देखिन्छ । बालकृष्णको विदाईको दृश्य यतिबेला सामाजिक सञ्जालमा ‘भाइरल’ छ । धैरले प्रतिक्रिया जनाएका छन्, ‘एउटा शिक्षकले पाउने सम्मान भनेको नै यहि त हो ।’

बालकृष्णले आफूलाई यसरी विदा गरिएला सोचेकै थिएनन् । उनलाई लागेको थियो, सामान्य कार्यक्रम गरेर विद्यालयले विदा गर्र्नेछ । उनी भन्छन्, ‘यो मेरा निम्ति अविस्मरणीय क्षण रह्यो । मेरो बिहेमा पनि यस्तो गर्न मैले सकेको थिइन । अहिले यस्तो सम्मानसाथ विदाइ हुन पाएँ धेरै गर्व लागेको छ ।’

विदाइमा गरिएको सम्मानलाई आफ्नो जीवनको सबैभन्दा ठूलो कमाइको रुपमा बालकृष्णले अर्थयाएका छन् । उनले आफूले जीवनभर कमाएको समपत्तिको रुपमा विदाइको पललाई संगालेका छन् ।

‘हुन त छाड्ने बेलामा जहाँपनि गाह्रो हुन्थ्यो । पहिला अस्थायी शिक्षक भएर पनि धेरै पढाएं । सरुवा हुने बेलामा अभिभावक, विद्यार्थी, स्थानीय सबैले नछोड्नु भन्नुहुन्थो’, बालकृष्ण थप्छन्, ‘तालबेंसीले यति धेरै माया मान्ला जस्तो लाग्याथेन । यो त मैले सोंचैकै थिइन । नसोंचेकै भयो ।’


विद्यालय र विद्यार्थीको सम्मानले उनको मन भारी थियो । लामो समय बिताएको पेशाबाट निवृत्ति हुनेबेला पाएको सम्मानले आँखामा टिलपिल भएका हर्षका आँसुलाई माहोल बिग्रेला भनेर उनले डिलमै अड्याए । बाजागाजासहित श्रीमानलाई घर ल्याएको देखेपछि बालकृष्णकी श्रीमति पनि बाटोसम्म आइन । सरलाई छोड्न आएका विद्यार्थीले उनलाई पनि फूलका गुच्छा दिदै सम्मान टक्रयाउदै शीर निहुराए । श्रीमान्लाई दिएको माया र सम्मान देखेर उनले खुशी थाम्न सकिनन्् । आँखा डिल हुँदै खुशीका थोपाहरु बरररर खसे ।


बालकृष्णले २०६० सालको कात्तिक ३० गतदेखि स्थायीय रुपमा शिक्षण पेशा सुरुआत गरेका थिए । सुरुमा उनले सरस्वती मावि आहाले गोरखाको कक्षाकोठा छिरेर विद्यार्थीलाई भविष्य कोर्न थाले । १४ वर्ष ९ महिना अघि उनी घरपायकको तालबेंसी मावीका कक्षाकोठालाई कर्मथलो बनाए । निमावि विज्ञान विषयको शिक्षक उनलाई अवकाशको दिन विद्यालयले यादगार विदाइ गरेको हो ।

विद्यालयले बालकृष्ण सरलाई विदाइको दिन पञ्चेबाजासहित घरमै पु¥याएर सरप्राइज दिएको विद्यालयका प्रधानध्यापक धुर्व वाग्ले बताउँछन् । विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापन समिति मिलेर ‘सरप्राइज’ योजना बनाएको उनको भनाइ छ ।

‘सरले विद्यालयमा लामो समय सेवा गर्नुभयो । विदाईमा हामीले सरप्रति देखाएको सम्मान हो । उहाँप्रति गहिरो सम्मान व्यक्त गरेको हौं’, वाग्लेले भने । तालबेंसीमै लामो समय सेवा गरेर अनिवार्य अवकाश हुने शिक्षकलाई अबदेखि यसैगरि सम्मानजनक विदाइ गर्ने उनले बताए ।

बालकृष्ण सरको विदाइमा बाजा बजाउने पनि तालबेंसीकै विद्यार्थी नै हुन् । विद्यालयले ९ जना इच्छुक विद्यार्थीलाई बाजा बजाउने कला सिकाउन थालेको छ । तर, सिकाउने प्रशीक्षकको अभावमा विद्यार्थी आफैंले ताल मिलाइरहेको प्रध्यानध्यापक वाग्ले बताउँछन् । वाग्लेका अनुुसार वडाले बजेटकै व्यवस्थापन गर्ने आश्वासन दिएपनि नियमित प्रशिक्षकको अभाव भोग्नुपरेको छ ।

किताबी ज्ञानलाई सिकाउदै व्यवहारमा उतार्न प्रयास गरेको उनको भनाइ छ । ‘बाजा हाम्रो लोक संस्कृति भएकाले जगर्नेना गर्न खोजेका छौं । पाठ्यक्रममा पनि बाजागाजाका विषयमा भएकाले विद्यार्थीलाई सिकाउनुपर्नेछ भनेर लाग्यौं’, उनले भने ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.