दुलेगौंडा
चौथो शुक्लागण्डकी महोत्सवमा बुधवार दर्शकको उल्लेखनयि सहभागिता भएको छ । महाशिवरात्री पर्वसँगै सार्वजनिक विदा रहेकाले दर्शकहरुको सहभागिता उत्साहजनक रुपमा रहेको मुल संयोजक समुन्द्रराम श्रेष्ठले बताए । श्रेष्ठका अनुसार स्टलहरुमा किनमेलका लागि भीडभाड थियो ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसमा जारी महोत्सवमा चर्चित लोकदोहोरी गायक बद्री पंगेनीसँगै गायिका सम्झना लामिछाने, लाली थापा, ज्योती लोहनीले दर्शकलाई छमछमी नचाए । शुक्लागण्डकीकै हास्यकलाकार सुरज भिरखोइरेले दर्शकलाई भरपूर हसाँए ।
बिहिबार लोकदोहोरी गायक रवि कार्की, कुमार पुन, सिता परियार, सन्तोष सुवेदी, सुभद्रा श्रेष्ठ लगायतले प्रस्तुती रहने कलाकार संयोजक सुमन सापकोटाले जानकारी दिए ।

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव फागुन २० गतेसम्म चल्नेछ ।महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संघसंस्था लगायत १७५ स्टल समावेश गरिएको छ ।
राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारको प्रस्तुती, लाइभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रा, खानाका परिकार, पुष्प प्रदर्शनी तथा बिक्रि, दैनिक उपभोग्य बस्तुको प्रदर्शनी एव बिक्री, हस्तकलाका सामान बिक्री तथा प्रदर्शनीलाई समावेश गरिएकोे छ ।
महोत्सवमा पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
महोत्सव अवधिभर २ लाख दर्शकले अवलोकन गर्ने अनुमान छ । ५ करोड रुपैयाको आर्थिक कारोवार हुने आयोजक शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले जनाएको हो ।