जथाभावी एन्टिवायोटिकको सेवन रोक्नुपर्नेमा जोड

दुलेगौंडा-जथाभावी एन्टिवायोटिक औषधिको सेवन रोक्नुपर्नेमा सरोकारवाला एकमत भएका छन् । एन्टिवायोटिक अनावश्यक प्रयोगले प्रतिरोध क्षमता घटाएर भयावह स्थिति आउनेमा उनीहरु सहमत छन् ।

मंगलबार स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले शुक्लागण्डकी नगरपालिकासँगको समन्वयमा गरेको पैरवी तथा सञ्चार कार्यक्रममा सहभागीले एन्टिवायोटिकले पार्ने असरबारे सचेत हुनुपर्नेमा जोड दिए ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पन्डितले एन्टिवायोटिक औषधिले काम नगर्दा रोगबाट बच्न मुस्किल हुने बताए । औषधिले काम नगरेपछि धेरैले अकालमै ज्यान गुमाउने उनको भनाइ थियो । औषधि पसलले डाक्टरको सल्लाहबिना एन्टिवायोटिक औषधि बिरामीलाई दिन नहुने उनको तर्क छ । ‘नीतिगत हिसाबले सहजीकरण गर्न आवश्यक छ’, उनले भने ।

शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले एन्टिवायोटिक प्रयोगमा भएको कमजोरीले स्वास्थ्य समस्या बढिरहेको बताए । स्वास्थ्य संस्थाले अनावश्यक उच्च डोजको एन्टिवायोटिक दिने गरेको उनको अनुभव छ । तरकारी, फलफूल, पशुपंक्षीमा दिइने विषादीले पनि रोग प्रतिरोधात्मक क्षमता घटाइरहेको लामगादेको भनाइ थियो ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रकी वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शारदा पहारीले एन्टिवायोटिक औषधिको प्रयोगले घटिरहेको प्रतिरोध क्षमतालाई सामान्य रुपमा लिन नहुने बताइन् । स्वास्थ्य क्षेत्र मात्रै नभएर समग्र क्षेत्रको चासोको विषय बन्नुपर्नेमा उनको जोड थियो । स्वस्थ्य जीवनशैलीका लागि एन्टिवायोटिकको प्रयोग गर्ने आनीबानी परीवर्तन गर्नुपर्ने पहारीले बताइन् ।

केन्द्रका जनस्वास्थ्य अधिकृत अनुप अधिकारीले एन्टिवायोटिक औषधिको प्रभाव नहुने गरेर जीवाणुको क्षमता विकास भइरहेको सुनाए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.