अफ्रिकन स्वाइन फिभर फैलिएपछि तनहुँमा बंगुर ओसारपोसारमा रोक

दुलेगौंडा– अफ्रिकन स्वाइन फिभर रोगबाट तनहुँका किसानले पालेका बंगुर मर्न र बिरामी हुन थालेपछि ओसारपसारमा प्रतिबन्ध लगाइएको छ ।
तनहुँमा हालसम्म १८ वटा बंगुर मरेका छन् । केही बिरामी भएपछि ओसारपसारमा रोक लगाइएको हो ।

तनहुँमा एक महिनादेखि सङ्क्रमण फैलिइरहेको छ । हालसम्म जिल्लाको भीमाद नगरपालिकामा १४, शुक्लागण्डकी नगरपालिकामा दुई, व्यास नगरपालिकामा एक र ऋषिङमा एक बंगुर मरेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख डा. राजेश चौधरीले जानकारी दिए ।

बाह्य मानिसलाई फार्ममा जान नदिन, सतर्कता अपनाउन र बङ्गुर तथा सुँगुर ओसारपसारमा प्रतिबन्ध लगाइएको उनले बताए । बंगुर मरेका फार्ममध्ये ऋषिङबाट पाँच, व्यासबाट पाँच र बंगुर नमरेका फार्मबाट दुईवटा गरी १२ वटा बंगुरको नमूना परीक्षणका लागि पशुपंछी रोग अन्वेषण प्रयोगशाला पोखरा पठाइएको छ ।

जिल्लाका १० पालिकामध्ये भिमाद, शुक्लागण्डकी र व्यास गरी तीन नगरपालिकामा ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण देखिएको हो । सबैभन्दा बढी भिमाद नगरपालिका यस रोगबाट प्रभावित भएको छ । जिल्लामा १३ हजार ५०० किसानले ४० हजार बंगुर पालेका पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.