दुलेगौंडा
तनहुँमा ४ महिने बालकलाई ढुंगाले हानेर हत्या गरिएको छ । ती बालकलाई आफ्नै आमाले ढुंगाले हानेर हत्या गरेकही हुन् । घिरिङ गाउँपालिका–४ की कमला परियारले ४ महिने छोरा अर्जुनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी अशोक थापाले बताए । यो घटना सोमबार साँझ ७ बजेको हो ।
कमला माइतिघर जाने क्रममा भिमाददेखि नवलपुर डेढगाउँ जाने सडक खण्डमा ढुंगाले हानेर गम्भिर घाइते बनाएको उनको भनाइ छ । ‘स्थानीयले घाइते बालकको उपाचारको लागि रामपुर अस्पताल पाल्पा लगेका थिए’, उनले भने । उपचारको क्रममा गएराती साढे ११ बजे मृत्यु भएको छ ।
नवलपुरको बौदीकाली गाउँपालिका–२ स्थायी वतन भएकी कमलालाई इलाका प्रहरी कार्यालय डेढगाउँले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित गराएर प्रारम्भिक अनुसन्धान पूरा गरिएको छ ।
कर्तव्य ज्यान मुद्वामा जिल्ला अदालत तनहुँबाट म्याद थप गरेर थप अनुसन्धान थालेको डिएसपी थापाले बताए ।