दुलेगौंडा– तनहुँको शुक्लागण्डकी नगरपालिका–५ अकलादेवी टोलमा सामुदायिक भवन निर्माण गरिएको छ । अकलादेवी मन्दिर र चौतारी रहेको स्थानमा सामुदायिक भवन निर्माण गरिएको हो ।
भवनको शुक्रबार शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डित, उपमेयर खुमबहादुर विक ‘राजु’, शुक्लागण्डकी–५ का वडाध्यक्ष दीर्घबहादुर थापाले उद्घाटन गरे ।
मेयर पण्डितले अकलादेवी क्षेत्रमा विकास गर्नुपर्ने पक्षको पहिचान भइसकेको बताएका छन् । सडक बत्ती, यातायातको पहुँच, खानेपानी, फोहोरमैला व्यवस्थापनमा लाग्नुपर्ने उनको भनाइ छ ।शैक्षिक र स्वास्थ्यको क्षेत्रमा पनि सुधार गर्नुपर्ने बताए । ‘सीमित स्रोत साधनले सबै क्षेत्रमा हेर्नुपर्ने कारण भने जस्तो विकास गर्न छैनौं । मानव पुजीं निर्माण गरेर जानुपर्नेछ’, उनले भने ।
उपमेयर विकले वस्ती विकास हुदाँ सार्वजनिक सम्पत्ति संरक्षण गर्ने परिपाटी नभएको बताए । ‘सार्वजनिक जमिन बचाउने चेतना हाम्रो पुस्तामा छैन’, उनले भने । नयाँ पूराना वस्तीका गल्लीहरु एम्बुलेन्स, दमकल पुग्न नसक्ने रहेको बताए । उनले थपे, ‘विकाससँगै हामी हाम्रै कारणले अफ्ठ्यारोमा परेका छौं ।’

वडाध्यक्ष दीर्घबहादुर थापाले भौतिक पुर्वाधारसँगै मानवीय विकासलाई पनि जोड दिएको बताए । जनताको चहाना अनुसार काम गर्न साधन र स्रोतको अभाव रहेको उनले सुनाए । ‘चहाना अनुरुप काम गर्न सकेका छैनौं । हामीले प्रयास गर्दैछौं’, उनको भनाइ थियो ।
वडाभर हालसम्म १९ वटा सामुदायिक भवन बनेको उनले जानकारी दिए । बहुउपयोगी, बहुउद्देश्यीय सामुदायिक भवन बनाउनुपर्नेमा उनको जोड छ । सार्वजनिक जमिनमा भवन बनाउने, अतिक्रमण गरेर आफ्नो बनाउने कामले खाली जग्गा पाउनै मुस्किल भएको उनको ठहर छ । जसका कारण प्राकृतिक विपतको बेला समस्या पर्ने बताए ।
टोलहका सल्लाहाकार नारायण पोखरेलका अनुसार शुक्रबार उद्घाटन गरिएको भवन ६ लाख रुपैयाँमा निर्माण गरिएको हो । वडा कार्यालय र स्थानीयले ३/३ लाख रुपैयाँ लगानी गरेको उनको भनाइ छ ।
सामुदायिक भवनबाहेक त्यहाँ घेराबार लगायतका काम गर्नलाई पनि वडाले ८ लाख रुपैयाँ दिएको थियो । अकला मन्दिर पुननिर्माणको योजना बनाएको पोखरेल बताउँछन् । १५ लाख रुपैयाँ गुरुयोजना नगरपालिकामा बुझाएपनि बजेट नपरेको उनको गुनासो थियो ।
अकलादेवी टोल विकास संस्थाका अध्यक्ष विष्णुबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष मनकुमारी कुवँर, तालडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पदमराज तिम्लिसिना, समाजसेवी रेशमबहादुर मल्ल लगायतले बोलेका थिए ।