आहा रारा गोल्डकपको फाइनल आजः उपाधिसँगै इतिहास रच्ने दाउ

पोखरा–आहा रारा पोखरा गोल्डकपको फाइनल खेल आज हुदैँछ । पोखरामा जारी २४ औं संस्करणको उपाधिका होडका लागि विभागीय टोली नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब भिड्न लागेका हुन् । यो खेल पोखरा रंगशालाको फुटबल मैदानमा दिउँसो २ बजे सुरु हुनेछ ।

उपाधि नजिक पुगेका पुलिस र ब्ल्याक बुल्स दुवै इतिहास रच्ने दाउमा छन् । ११ औं पटक फाइनल भिड्न लागेको नेपाल पुलिस क्बलले यो पटकको उपाधि उचाल्दै सर्वाधिक उपाधि जित्नेको इतिहास बनाउन चाहान्छ । उता ब्ल्याक बुल्स पहिलो सहभागितामै उपाधि हत्याउदै इतिहास लेख्ने दाउमा छ ।

पुलिसले ६ पटकसम्म आहा रारा पोखरा गोल्डकपको उपाधि जितिसकेको छ । उसो त मनाङ मस्र्याङदी क्लब पनि ६ पटकसम्म आहा राराको उपाधि जित्ने टोली हो । पुलिसले यसपाली विदेशी टोली ब्ल्याक बुल्सलाई पाखा लगाउदै उपाधि जितेर मनाङलाई उछिन्ने सुरुमा छ । उपाधि जितेको खण्डमा पुलिस बन्नेछ आहा रारा पोखरा गोल्डकपको सर्वाधिक उपाधि जित्ने एक्लो टोली ।

पुलिसले आहा रारा पोखरा गोल्डकपको सुरुआत मानिने क्याराभान गोल्डकपसहित ६ पटक उपाधि जितेको छ । ४ पटक उपविजेता बनेको छ । पुलिसले लगातार तीन संस्करण जितेर ह्याट्रिकको इीतहास रचेको पनि छ । पुलिस २०५८, ०५९, ०६४, ०६५, ०६६ र ०७४ मा उपाधि जितेको हो ।

अर्को सफल टोली मनाङले २०६०, २०६१, २०६८, २०७२, २०७३ र २०७६ मा आहा राराको उपाधि जितेको थियो । यो पटक भने प्रतियोगितामा सहभागि नै भएन ।

पुलिसका प्रशिक्षक चेतन घिमिरेले फाइनलका लागि तयार रहेको बताए । ट्रफी जितेर इतिहास बनाउने लक्ष्यले मैदानमा उत्रने उनी बताउँछन् । उनी भन्छन्, ‘ हामी लयमा छौं । हामीसँग स्टार खेलाडीको कमी भएपनि नयाँ खेलाडीमा युवा जोंश, आत्मविश्वास भएकाले उपाधि जित्नेमा ढुक्क छौं ।’

ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलाजिजले फाइनल खेल ५०÷५० को हुने बताउँछन् । उनले उत्कृष्ट खेल्दै च्याम्पियन बन्ने दाबीसमेत गरे । ‘फाइनल खेल हो । जित दुबै टिमको लक्ष्य हो । हामी जित्नेगरी नै खेल्छौं’, उनको भनाइ थियो ।

पुलिसले प्रिक्वाटरफाइनलमा आयोजक सहारा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो । क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई २–० ले हरायो । सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई १–० ले पराजित गर्दै फाइनलसम्म आइपुगेको हो । पुलिसका कप्तान राम वाजीले रणनीति अनुसार खेल्दै उपाधि पोल्टामा पार्ने बताउँछन् ।

ब्ल्याक बुल्सले पहिलो पटक आहा रारा गोल्डकप खेल्न पोखरा आएको हो । बाइ पाएर सिधैं क्वाटरफाइनल खेल्न आएको उसले अर्को पाहुना टोली भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड क्लबलाई ३–० गोल अन्तरले हराउदै सेमिफाइनल यात्रा तय ग¥यो । सेमिफाइनलमा सानदार खेल्दै उसले आहा रारा पोखरा गोल्डकपमा पाँच पटकसम्म उपाधि जितेको थ्रीस्टारलाई ४–० गोल अन्तरले रोक्दै पुलिससँगको भिडन्त पक्का गरेको हो । ब्ल्याक बुल्सका कप्तान जाखोनजिरले फाइनलका लागि तयार रहेको सुनाए । राम्रो खेल्दै उपाधि जित्नेमा केन्द्रित हुने उनले बताए ।

अहिलेसम्म आहा रारा पोखरा गोल्डकपको उपाधि पुलिसले र मनाङले समान ६/६, थ्रीस्टारले ५, संकटा क्लबले २, सहारा क्लब, एपिएफ, त्रिभुवन आर्मी क्लब र अफ्रिकन युनाइटेडले समान १÷१ पटक उचालेका छन् ।

माघ २३ देखि प्रतियोगिता सुरु भएको थियो । यो पटक तीन विदेशीसहित १२ टोली सहभागी थिए । उपाधि विजेताले १२ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ६ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.