दुलेगौंडा– विवादकै बीचमा तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववीयु) को निर्वाचन भइरहेको छ । चार विद्यार्थी संगठनको बहिष्कारकाबीच पनि मतदान भइरहेको हो ।
अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल समाजवादी र अखिल (क्रान्तिकारी) बहुमतको बहिष्कारकाबीच निर्वाचन समितिले जबरजस्त मतदान पक्रिया अगाडि बढाएको छ । मतदान प्रक्रियामा नेविसंघ निकट मात्रै सहभागी छन् ।
निर्वाचन समितिले धाँधली गरेको भन्दै उच्च अदालत पोखरामा रिट दर्ता भएको छ । समितिले तोकेको समयभित्र अनेरास्ववियुको मात्रै उम्मेदवारी परेपछि निर्विरोध भएको घोषणा गर्नुपर्नेमा निर्वाचन समितिले घोषणा नगरेको आरोप लगाउँदै अध्यक्षका उम्मेदवार सविन लामिछानेले रिट दायर गरेका थिए । रिटको सुनुवाइ आगमि आइतबारलाई तोकिएको छ ।
रिटमा आदिकवि भानुभक्त क्याम्पस, स्ववियु निर्वाचन प्रबन्ध समिति, निर्वाचन अधिकृत विश्वेश्वर तिमिल्सिना, त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिलाई विपक्षी बनाइएको रिटमा उच्चले चैत ३ गते कारण देखाउ आदेश जारी गरेको छ ।
सबै विद्यार्थी संगठनको सहमतिमा निर्वाचन समितिले उम्मेदवारी दर्ताको लागि मंगलबार दिउँसो २ बजेसम्मको समय तोकिएकोमा उक्त समयभित्र अनेरास्ववियुका उम्मेदवारले मात्र उम्मेदवारी दर्ता गरेको र आफूहरु सर्वसम्मत निर्वाचित हुनुपर्ने लामिछानेको दाबी छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको भानुभक्त बहुमुखी क्याम्पस, भिमाद नगरपालिकाको जनज्योति क्याम्पस, आँबुखैरेनी गाउँपालिकामा रहेको आँबुखैरेनी क्याम्पसमा पनि मतदान जारी छ ।
उम्मेदवारी दर्ता गर्ने समय सकिएपछि निर्वाचन समितिले विद्यार्थी संगठनसँग कुनै परामर्श नगरी उम्मेदवारी दर्ताको समय साँझ ५ बजेसम्म तोकेर समितिले धाँधली गरेको आरोप उनले लगाए । थप भएको समयमा अन्य संगठनले पनि उम्मेदवारी दर्ता गरेका छन् ।
अखिल क्रान्तिकारी लगायतका संगठनले आफ्ना मागसहित निर्वाचन समिति र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ ।