तनहुँ
तनहुँको आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा नियमित रुपमा पठनपाठन सूचारु गर्न निर्देशन दिएको छ । बैशाख १४ गतेदेखि गाउँपालिकामा रहेका सामुदायिक विद्यालयलाई नियमति रुपमा सूचारु गर्न निर्देशन दिएको हो ।
आफ्ना माग सम्बोधनका लागि वैकल्पिक तरिका अपनाउन गाउँपालिका अध्यक्ष शुक्र चुमानले अनुरोध गरेका छन् । गाउँपालिकाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न हरदम प्रयत्नशील रहेको स्मरण गराएका छन् ।
‘शिक्षकहरुको जायज मागका लागि हाल चलिरहेको आन्दोलन प्रति आँबुखैरेनी गाउँपालिकाको पनि ऐक्यवद्धता रहेको छ । तथापी लामो समय सम्म विद्यालय बन्द रहँदा भविष्यका कर्णधारका रुपमा रहेका विद्यार्थीहरुमा प्रत्यक्ष असर परेको व्यहोरा सर्वविदितै छ’, मंगलबार सूचना जारी गर्दै उनले भनेका छन् ।
नेपालको संविधानले नै वालवालिकाले पढ्न पाउने हकलाई मौलिक अधिकारको रुपमा स्थापित गरेको उनको भनाइ छ । विद्यालयमा नियमित पठनपाठनलाई निरन्तरता दिइ आफ्ना मागहरु सरकारद्वारा सम्बोधन गराउनका लागि वैकल्पिक तवरले माग उठान गर्न उनको अनुरोध छ । शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण, शैक्षिक तथा प्रशासनिक काम तत्काल सञ्चालन गर्दै बैशाख १४ गतेबाट कक्षा सञ्चालन गर्न उनले आह्वान गरेका छन् ।
उता स्याङजाको विरुवा गाउँपालिकाले भने आजकै मितिदेखि विद्यालय सूचारु गर्न निर्देशन दिएको छ । ‘विगत लामो समयदेखि देशमा चलिरहेको शिक्षक आन्दोलनले शैक्षिक सत्र २०८२ सालको विद्यालय भर्ना, सञ्चालन तथा पठनपाठनमा बाधा परेको भनि अभिभावक तथा सरोकारवालाको गुनासो रहेको साथै हालसम्म विद्यालय पनि सञ्चालन नभएको पाईएको हुँदा बिरुवा गाउँपालिका भित्र रहेका सम्पूर्ण विद्यालयहरुले आजकै मितिबाट विद्यालय सञ्चालन गरी भर्ना, पठनपाठन लगायत सम्पूर्ण क्रियाकलाप सुचारू गर्नुहुन जानकारी गराइन्छ’, अध्यक्ष सूर्यबहादुर कुवँरले जारी गरेको सूचनामा भनिएको छ ।
कास्कीको पोखरा महानगरपालिकाले भने सामुदायिक र संस्थागत दुवै विद्यालयको पठनपाठन स्थगित गरेको छ । सोमबारदेखि पठनपाठन सुचारु गर्ने शैक्षिक क्यालेन्डर थियो । त्यसलाई स्थगित गरेर बैशाख ११ गतेबाट सुरु गर्न निर्देशन दिएको छ ।
संस्थागत र सामुदायिक विद्यालयमा एकैपटक पढाइ सुरू गर्ने उद्देश्यले तत्काललाई स्थगित गरेको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख हेमप्रसाद आचार्यले बताए । शिक्षकको आन्दोलनका कारण सामुदायिक विद्यालयको शैक्षिक गतिविधि ठप्प छ ।