दुलेगौंडा
आँबुखैरेनी गाउँपालिकामा चितवनको मेडिकल कलेजले विशेषज्ञ सेवा दिने भएको छ । आँबुखैरेनी गाउँपालिकासँग भएको स्वास्थ्य सेवा सम्बन्धि सम्झौता अनुसार मेडिकल कलेजले विशेषज्ञ सेवा दिने भएको हो ।
आँबुखैरेनी गाऊँपालिका अध्यक्ष शुक्र चुमान र चितवन मेडिकल कलेजका निर्देशक प्रताप देवकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रत्येक १५ दिनमा विशेषज्ञ सेवा उपलब्ध गराउनको लागी आँबुखैरेनीको माग बमोजिम चितवन मेडिकल कलेजले विशेषज्ञ डाक्टर उपलब्ध गराउनेछ ।
आँबुखैरेनी गाऊँपालिकाबासीलाई चितवन मेडिकल कलेजबाट उपलब्ध गराउने उपचार सेवामा २० प्रतिशत रकम छुट हुने अध्यक्ष चुमानले बताए । ‘पालिकाको विकट क्षेत्रलाई केन्द्रित गरी निःशुल्क विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर सञ्चालन गर्नलाई आवश्यक जनशक्ति र उपकरण मेडिकल कलेजले उपलब्ध गराउने सम्झौता भएको छ’, उनले भने ।
आँबुखैरेनी गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर अस्पताल सञ्चालन गरेको छ । अस्पतालबाट विशेषज्ञ सेवासमेत दिन थालिएको छ । चितवन मेडिकल कलेजसँग भएको सम्झौताले गाउँपालिकाबासीलाई स्वास्थ्य सेवा लिन थप सहज हुने अध्यक्ष चुमानको विश्वास छ ।