तनहुँ
ज्यामीस्वाँराकी पुजा मगर पानी अमला, सिस्नु, सालको पात, निगुरो, पिना र राँयोको साग बेचिरहेकी छन् । गाउँबाट झरेको केही घण्टामै उनले ल्याएका अधिकांश सामान विक्री भइसके । बाँकी सामान किन्न पनि ग्राहकको ओहोरदोहोर चलिरहन्छ । उनी एउटा हातले ग्राहकलाई सामान दिन्छिन्, अर्को हातले पैसा नोट लिन्छिन् ।
ग्राहकको आउने जाने क्रम चलिरहन्छ । कोही पिना लिएर जान्छन् त कोही सिस्नु । कोही रित्तिएको पानी अमला राखेको बोरा हेरेर फर्कन्छन् ।
एक महिला ग्राहक आएर सोधिन्ः ‘पानी अमला अर्को हप्ता पनि ल्याउनुहुन्छ की नाई ?’
पुजा भन्छिन्ः ‘ल्याउन त ल्याउछु, अलि चाँडै आउनुहोला धेरै बेर रहदैन ।’
तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको शुक्रबारे हाटबजारमा देखिएको दृश्य हो यो । पुजाले हाटबजारमा विक्री गरिररहेका उत्पादन केही बारी फलेका हुन् त केही जंगलबाट खोजेर ल्याएका । तर, पहिला यी सबै उपज कुहिएर जाने उनको भनाइ छ ।
‘पहिला त कुहिएर खेरा जान्थ्यो । कुहिएर खेरा जानुभन्दा यहाँ ल्याएर खाजा खाने बाटो गरुम न भनेर ल्याएको’, उनी भन्छिन्, ‘हाटबजारले सजिलो भाछ । खेरा जाने तरकारी विक्री गर्न पाएका छौं । फाल्नु परेको छैन ।’
उनी पछिल्लो समय नियमितजसो हाटबजारमा गाउँका सामान लिएर ओर्लिन्छिन झर्छिन । बारीमा सिजनको बेला फलेका तरकारी र सागपात मात्रै होइन जंगलमा भेटिने निगुरो, सिस्नु, सालको पात, पानी अमला आम्दानीको गतिलो स्रोत बनेको छ । हाटबजारमा ल्याउनेवित्तिकै खोसाखोस हुन्छ । गाउँघरका उपजले सोच्दै नसोचेको बजार पाएपछि पाएपछि उनी दंग छिन् ।
पुजा जस्तै हाटबजारमा खेरा जाने सामान बेच्न पाएपछि दंग देखिन्छिन् आडैमा भेटिएकी आँबुगाउँकी सिता श्रेष्ठ । उनले यो हप्ता हरियो मकै, मकैको च्याँख्ला, सिस्नुको धूलो, फर्सीको मुन्टा, सिमी बोडी ल्याएकी छन् । सितालाई पहिला मकैको च्याँख्ला, सिस्नुको धूलो, फर्सीको मुन्टा विक्री होला कहिल्यै लाग्थेन । अहिले गाउँबाट जे ल्याछिन् नबिकेर फर्काउनु परेको दिन छैन ।
‘ल्याएको सामान सबै कट्छ बेल्कासम्म । पहिला त यी सामान विक्छ जस्तो नि लाग्थेन । अहिले त टाँकीको मुन्टा नि विक्री भाछ, सिस्नो नि विक्री भाछ’, मुस्कुराउँदै उनले सुनाइन्, ‘पहिला यो सिस्नु फाँडेर फाल्थ्यौं । टाँकीको मुन्टा बाख्राले भैंसीले खान्थ्यो । अहिले त घर खर्च चल्या’छ ।’
पसिना पुछ्दै सिताले थपिन्, ‘खुशी नै छु । कमाई आम्दानी ठीकै हुन्छ । बच्चाबच्चीलाई अलि अलि पढाउने खर्चदेखि घरको साबुन मरमसला किन्न हुन्छ ।’ हाटबजारमा गाउँका उत्पादन सबै विक्री हुन थालेपछि उनलाई गाउँमा अझै धेरै उत्पादन गर्न रहर पलाएको छ । खनजोत गर्नलाई हाटे ट्याक्टरसँगै चलाउने सीपको अपेक्षा गरेकी छन् ।
आँबुखैरेनी बजारको अमिलबोटेमा २०७९ फागुन तेस्रो सातादेखि हाटबजार सञ्चालनमा आएको हो । हाटबजारले गाउँमा कुहिएर खेरा जाने उपजको बिक्री गर्ने व्यवस्था मात्रै मिलाएको छैन घरघरै डुलेर बेच्नेलाई पनि सहज बनाएको छ ।
हरेक हप्ताको शुक्रबार हाटबजारमै बिताउछन् बरादीका अच्युतप्रसाद वाग्ले । उनी माटोको भाँडामा दही जमाएर हाटबजारमा आउनेलाई पिलाउछन् । उखरमौलो गर्मीमा दही पिएर ग्राहक शीतलो भएर फर्कन्छन् । घरघरै धाउन नपर्दा वाग्लेलाई पनि निको भएको छ ।
‘विचौलियाको आवश्यकता छैन । आफ्नो उत्पादन आफैं ल्याएर विक्री गर्ने हो । मैले पहिला घरघरमा गएर विक्री गर्थे । अहिले हाटबजार खुलेपटि यहीं विक्री गर्ने ग¥याछु’, वाग्ले भन्छन्, ‘अहिले किसानहरु उत्साहित भएका छन् । यहाँ बेशींका किसान, गाउँका किसान सबैलाई आफ्नो सामान विक्री गर्ने थलो भएको छ ।’
हाटबजारले किसानलाई मात्रै नभएर उपभोक्तालाई पनि सहज बनाएको छ । गाउँका अर्गानिक उपजले उपभोक्ता लोभ्याएको छ । शुक्रबार हाटबजार नआइ मन शान्त नहुने बानी परेको छ । गाउँका अर्गानिक उपज किन्न आइरहने उपभोक्ता मध्य पर्छिन् भगवति अधिकारी । भन्छिन्,‘विशेष गरेर गाउँतिरको चिसो हावापानीमा फल्ने अर्गानिक तरकारी,फलफूल, कोदो, फाँपर किन्नलाई आउछु । मिठोसँगै स्वास्थ्यबर्द्धक पनि हुन्छ ।’ गाउँबाट झर्ने कृषि उपज विषादीरहित हुने अधिकारीको विश्वास छ । बसाइँ शहरको भएपनि गाउँकै खाने रहर हाट बजारले पूरा गरेको उनले बताइन् ।
अर्का उपभोक्ता राजाराम केसी त लोप हुने अवस्थामा पुगेका उपज किन्न पाएको भन्दै दंग सुनिए । ‘हराइसकेका गिट्ठा भ्याकुर खान पाइएको छ । पूराना अर्गानिक चिजहरु सिस्नो, लेकाली निगुरो र वनजंगलमा पाइने फलफूलहरु पाइन्छ’, उनले भने ।
हाटबजारमा तरकारी, फलफूल, साँगपात, बासका चोयाबाट बनेका घरायसी सामाग्री, माछामासु, रैथाने परिकार, मह, दुग्धजन्य परिकार, आरनबाट निर्माण भएको सामाग्रीको किनबेच भइरहेको छ । किसानले विक्री गर्न समस्या भएका सामाग्री गाउँपालिका आफैंले जिम्मा लिएर बेच्नेसमेत गरेको छ ।
अर्गानिक र रैथाने उपज किसानबाट सिधै उपभोक्ताले किन्ने भएकाले विचौलियाले असुल्ने रकम पनि किसानले नै पाएका छन् । तनहुँमा हाटबजार प्रथा हराइसकेको अवस्थामा आँबुखैरेनीले सञ्चालनमा ल्याएर पहिचानको रुपमा स्थापित गर्न सफल भएको हो ।
हाट बजार सञ्चालन भएको स्थान गाउँपालिकाले १० वर्षका लागि भाडामा लिएको हो ।