ऋषिङका अध्यक्ष राजेन्द्रकृष्णविरुद्ध पक्राउ पुर्जी, पक्राउ गर्दैन प्रहरी

विनोद ढुंगाना
तनहुँ

तनहुँको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठविरुद्ध जिल्ला अदालत तनहुँले पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत तनहुँले जेठ १३ गते पक्राउ पुर्जी जारी गरेपनि प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन ।

ज्यान मार्ने उद्योग सम्बन्धि कसुरमा पक्राउ पुर्जी जारी भएपनि अध्यक्ष श्रेष्ठ खुलेआम सार्वजनिक कार्यक्रमहरुमा भाषण गर्दै हिँडिरहेका छन् । इलाका प्रहरी कार्यालय बेलचौताराको चलानी नम्बर ५८१० को पत्रअनुसार पक्राउ पुर्जी माग भएकोमा जिल्ला अदालत तनहुँका न्यायाधिश राजेशकुमार कटुवालले आदेश दिएको स्रोतले बतायो ।

ज्यान मार्ने उद्योग सम्बन्धि कसुरमा पक्राउ पुर्जी जारी भएपछि अनिवार्य पक्राउ गर्नुपर्ने भएपनि प्रहरीले आलटाल गरिरहेको छ । प्रहरीले अनुसन्धान सकाएर मिसिल जिल्ला सरकारी वकिलको कार्यालय पठाएको छ । सरकारी वकिलको कार्यालयले अदालतमा अभियोजन दर्ता गराउन पनि ढिलासुस्ती गरिरहेको हो ।

ऋषिङ गाउँपालिका अध्यक्ष श्रेष्ठविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धि कसुरको जाहेरी बैशाख २५ गते दर्ता भएको थियो । राजनीतिक पहुँचको आधारमा प्रहरीले जाहेरी लिन नमानेपछि भीमाद नगरपालिका–६ बस्ने ५७ वर्षीय प्रभात आलेले हुलाकमार्फत पठाएकोमा बल्लतल्ल दर्ता भएको हो ।

गएको फागुन १३ गते प्रभात आफैं इलाका प्रहरी कार्यालय बेलचौतारा पुगेर जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले राजनीतिक दबाबका कारण दर्ता गरेको थिएन । आलेले पछि बैशाख १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला सरकारी वकिलको कार्यालयलाई हुलाकमार्फत जाहेरी पठाएका थिए ।

बैशाख २२ गते जिल्ला प्रहरी कार्यालयमा जोहरी पुगेको थियो । त्यसको ३ दिनपछि मात्रै दर्ता भयो । ऋषिङका अध्यक्ष श्रेष्ठले गण्डकी प्रदेश सभा सदस्य जीतप्रकाश आलेको भाइ प्रभातलाई कुटपिट गरेको घटना फागुन ७ गते रातिको हो । प्रहरीले जाहेरी लिन नमानेपछि लामो समयपछि घटना बाहिरियो । लामो समयपछि घटना बाहिरिनुलाई राजनीतिक लाभ हानीको रुपमा नेपाली कांग्रेस वृत्तमै चर्चा छ ।

पक्राउ पुर्जी जारी भएको लामो समयसम्म पनि पक्राउ नगर्नुले ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने नेपाली उखानलाई न्याय दिएको छ । सत्ता र शक्तिको आडमा प्रहरी प्रशासन चलेको यो घटनाको नालीबेलीले देखाउँछ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी अशोक थापाले पक्राउ पुर्जी जारी भएको पुष्टि गरे । जेठ २५ गते नै प्रहरीले अनुसन्धान सकाएर जिल्ला सरकारी वकिलको कार्यालयमा पठाएको उनको भनाइ थियो । उनले यो विषयमा थप इलाका प्रहरी कार्यालय बेलचौतारामा बुझ्न आग्रह गरे ।

इलाका प्रहरी कार्यालय बेलचौतारका प्रमुख प्रहरी निरिक्षक पोषण थापाले पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष श्रेष्ठ आफैं कार्यालयमा उपस्थित भएको खुलाए । अनुसन्धान पक्रियाबारे उनी भन्छन्, ‘सरकारी वकिलको कार्यालयमा मिसिल पठाएका छौं ।’

जिल्ला अदालत तनहुँकी सूचना अधिकारी लक्ष्मी रिमाल पराजुलीका अनुसार सरकारी वकिलको कार्यालयले हालसम्म अभियोग दर्ता गराएको छैन । ‘प्रहरीले पक्राउ गरेर ल्याएपछि बल्ल अदातलमा मुद्वा दर्ता हुन्छ’, उनले भनिन् ।

हामीले केही अधिवक्तालाई अदालतबाट पक्राउ पुर्जी जारी भएपछि के हुन्छ भनेर प्रश्न ग¥यौं । उनीहरुको एउटै जवाफ थियो, ‘अनिवार्य पक्राउ गर्नुपर्छ ।’ उच्च अदालतले जिल्लाले जारी गरेको पक्राउ पुर्जी विरुद्ध आदेश दिएमा मात्रै पक्राउ गर्नु नपर्ने उनीहरुको भनाइ थियो ।
ऋषिङका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले आफू उच्चमा जाने प्रक्रियामा रहेको बताए । पक्राउ पुर्जी जारी भएपछि आफैं जिल्ला अदालत गएको उनले सुनाए ।

जाहेरी दिएका प्रभात आलेले मुद्वा मिलाउन नेपाली कांग्रेसका नेताहरुले दबाब दिएको उल्लेख गरे । ‘ज्यान मार्ने उद्योगमा जुन किसिमले अनुसन्धान गर्नुपर्ने हो । ‘दोषीलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्नेमा पुलिस प्रशासन सारा मिलेर यो केशलाई दबाउन खोज्दैछन्’, उनले आरोप लगाए ।

नेपाली कांग्रेस तनहुँका उपसभापतिसमेत रहेका ऋषिङका अध्यक्ष श्रेष्ठले भीमाद नगरपालिका–६ मालेबगर पुरानो स्कुलस्थित आफ्नै घरमा बोलाएर कुटपिट गरेको प्रभातको आरोप छ ।

जाहेरी दिएका आले २०१५ सालमा निर्वाचित सांसद स्वर्गीय पदमबहादुर आलेका हुन् । जाहेरी दिएका आलेका अनुसार भाइ विलासको जग्गा राजेन्द्रकृष्णले किनेर प्लटिङ गरेर बिक्री गरेका थिए । ७ वर्ष पहिले किनबेच भएको जग्गाको बाटो छोड्ने सहमति कार्यन्वयन नभएपछि विवाद सुरु भएको आलेले बताए । विवाद टुंग्याउन खोज्दा आफूमाथि चोट लाग्ने गरेर कुटेको उनका आरोप छ । आफूमाथि हातपात गरेपछि प्रतिकार गरेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताएका थिए ।

तस्बिर स्रोतः ऋषिङ गाउँपालिकाको फेसबुक पेज

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.